काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीलाई तीव्र बनाएको छ।
गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम परीक्षा सकिएलगत्तै सुरु गरिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार वैशाख २९ गतेसम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले हाल ३५ जना कर्मचारी टेबुलेसन कार्यमा खटिएको जानकारी दिँदै निर्धारित समयमै नतिजा सार्वजनिक गर्न आवश्यक काम भइरहेको बताए।
‘माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ अनुसार परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था छ।
गत वर्ष नियमित र स्तरवृद्धितर्फ गरी कुल पाँच लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए।