राजविराज । पूर्वमन्त्री उमेश कुमार यादवले राजविराजमा गत भदौ २३ र २४ गते भएका आगजनी तथा त्यससँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे गम्भीर प्रश्न उठाउँदै निष्पक्ष अनुसन्धानको माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले राजविराजस्थित विभिन्न राजनीतिक दलका कार्यालय, राजविराज नगरपालिका, नापी शाखा, अदालत तथा व्यक्तिगत आवासहरूमा आगजनीमा संलग्न व्यक्तिहरूलाई सामाजिक अभियन्ताका रूपमा चित्रण गर्न खोजिएकोप्रति आपत्ति जनाएका छन्। उनले त्यतिबेलाका दृश्य सामग्रीले घटनामा संलग्न व्यक्तिहरूको प्रवृत्ति स्पष्ट देखाउने दाबी गर्दै नगरपालिकामा आगजनी भएको भोलिपल्ट र पर्सिपल्ट सञ्चालन गरिएको सरसफाइ कार्यक्रममा समेत आगजनीमा संलग्न भनिएका केही व्यक्ति सहभागी भएको उल्लेख गरेका छन्। उनका अनुसार ती घटनाका दृश्यहरू अध्ययन गर्दा धेरै विषय स्वतः स्पष्ट हुनेछन्।
पूर्वमन्त्री यादवले अपहरण, शरीर बन्धक, शारीरिक तथा मानसिक यातना, नाङ्गो बनाएर नचाउने र लुटपाटजस्ता गम्भीर आरोप लागेका व्यक्तिहरूको प्रतिरक्षामा उत्रिने प्रवृत्तिप्रति समेत चिन्ता व्यक्त गरेका छन्। यस्ता गतिविधिलाई जायज ठहर्याउने प्रयासले समाजमा गलत सन्देश प्रवाह हुने उनको भनाइ छ।
उनले समाधान भइसकेका विषयलाई पुनः उचालेर धार्मिक द्वन्द्व चर्काउने, अराजकता मच्चाउने तथा हिंसात्मक गतिविधिलाई प्रश्रय दिने कार्यले समाजलाई गलत दिशातर्फ धकेल्ने बताएका छन्। साथै नगरपालिकामा आगजनीमा संलग्न भनिएका व्यक्ति अर्को अपराधमा पक्राउ पर्दा कार्यवाहक मेयर तथा उनको सचिवालयबाट देखिएको प्रतिक्रियाले घटनाबारे थप शंका उत्पन्न गरेको टिप्पणी उनले गरेका छन्। यसले आगजनीका घटना योजनाबद्ध थिए कि भन्ने आशंका उब्जाएको उनको संकेत छ।
पूर्वमन्त्री यादवले तत्कालीन राजनीतिक लाभ–हानिभन्दा माथि उठेर समाजमा दीर्घकालीन रूपमा बेथिति बस्न नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्। उनले राज्य संयन्त्र कुनै पनि पक्षप्रति पूर्वाग्रही नबनी निष्पक्ष र कानुनसम्मत ढंगले अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन्।