एक्सन–लभ स्टोरी ‘कुम्भ’को प्रोमोशन तीब्र (हेर्नुहोस् टिजर)

राजविराज । आगामी जेठ १५ देखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुम्भ’को प्रचार–प्रसार मधेशमा समेत तीब्र पारिएको छ ।

सप्तरी कलाकार संघको समन्वयमा आइतवार राजविराजमा उक्त चलचित्रको प्रोमोशनमा कार्यक्रम आयोजना गरिएको हो । कलाकार, पत्रकार, वकिल, नागरिक अगुवा, युवा, विद्यार्थी समेतको उपस्थितिमा आयोजित कार्यक्रममा नायक अशोक आर्यनले आफूले एक दशकदेखि गरेको कठोर मेहनतबाट नेपाली चलचित्रको पर्दामा नायकको रुपमा उदाउने अवसर पाएको बताए । सप्तरी आफ्नो जन्मथलो भएको चर्चा गर्दै आर्यनले भने ‘सप्तरीका सिनेमा हलमा यो फिल्म हेरेर उत्साह बढाइदिन आग्रह छ, यसको सफलताले मेरो मात्र होइन, सम्भावनायुक्त कलाकारहरुको प्रवेशका लागि ढोका समेत खोल्नेछ ।’

रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा निर्मित नेपाली चलचित्र ‘कुम्भ’ एक्सन र प्रेमकथा प्रधान रहेको नायक आर्यनले जानकारी दिए । उनका अनुसार नेपाली चलचित्रको इतिहासमा फरक शैलीमा निर्माण भएकोले दर्शकको मन जित्न सफल हुनेछ ।
चलचित्रमा साउथका कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ, जसले फिल्मलाई थप आकर्षक बनाएको जनाइएको छ । चलचित्रमा वरिष्ठ कलाकार सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, अफ्सना थापा, सृष्टि खड्का समेतको अभिनय रहेको छ । चलचित्रमा अशोक आर्यन र सृष्टि खड्काको प्रेमलाई फरक तवरबाट प्रस्तुत गरिएको छ ।

नायक आर्यनले दिएको जानकारी अनुसार चलचित्रको अधिकांश छायाङ्कन काठमाडौं, रौतहट, सर्लाहीका साथै भारतको कर्नाटकको विभिन्न स्थानहरुमा गरिएको छ । चलचित्रको द्वन्द्व निर्देशन संजय थापाले गरेका छन् भने निर्माणमा रन्धिर श्रेष्ठ तथा राजेश साह छन् ।

चलचित्रका नायक आर्यन सप्तरीको राजविराज नगरपालिका–२ निवासी हुन् । उनी विगत एक दशकदेखि नेपाली, मैथिली तथा हिन्दी म्यूजिक भिडियोहरुमा भूमिका निभाउँदैआएका थिए । उनी वाक तथा श्रवण विशेषज्ञ समेत हुन् । विद्यालयमा अध्ययनरत रहँदादेखि नै कलाक्षेत्रप्रति मोह बढाएका उनी स्वास्थ्य सेवा र कलाकारिताको यात्रामा अग्रसर छन् ।

 हेर्नुहोस् टिजर

 

Author:



क्याटोगरी छान्‍नुहोस