डा. सुष्मा साउद
एकजना ६८ वर्षीया आमासँग भेट भयो। उहाँ निकै सक्रिय, सचेत र स्वास्थ्यप्रति सजग स्वभावकी हुनुहुन्थ्यो। धुमपान र मद्यपान कहिल्यै गर्नुभएन, गाउँमै अर्गानिक खानपान गर्दै स्वस्थ जीवनशैली अपनाएर बस्नुभएको थियो।
केही समयदेखि बेला-बेलामा ज्वरो आउने र फेरि निको हुने भइरहेको रहेछ। सामान्य समस्या ठानेर खासै गम्भीर रूपमा लिनुभएन। पछि काठमाडौँ आउँदा स्वास्थ्य बीमाको सुविधा उपयोग गरेर नियमित स्वास्थ्य जाँच गराउने सोच्नुभयो। तर रिपोर्टले सबैलाई स्तब्ध बनायो- उहाँलाई फोक्सोको क्यान्सर रहेछ, त्यो पनि चौथो चरण (Stage IV) मा पुगिसकेको।
अहिले उहाँ उपचाररत हुनुहुन्छ र आत्मविश्वासका साथ रोगसँग लडिरहनुभएको छ। भेटका क्रममा उहाँले भन्नुभएको एउटा कुरा निकै मार्मिक लाग्यो:
‘सबै काम केही समयका लागि थाँती राखेर भए पनि बेलाबेलामा स्वास्थ्य जाँच गराउनुपर्छ। रोगलाई समयमै पहिचान गर्न सकियो भने उपचार धेरै सहज र प्रभावकारी हुन्छ।’
उहाँको अनुभव र नियतीले हामी सबैलाई एउटा महत्वपूर्ण पाठ दिन्छ- स्वस्थ जीवनशैली अपनाउनु अत्यन्त आवश्यक छ, तर त्यो मात्र पर्याप्त हुँदैन। कतिपय रोगहरू सुरुआती अवस्थामा स्पष्ट लक्षण नदिई शरीरभित्र बढिरहेका हुन सक्छन्। त्यसैले आफूलाई स्वस्थ महसुस भइरहेको छ भन्दैमा नियमित स्वास्थ्य परीक्षणलाई बेवास्ता गर्नु हुँदैन।
समयमै गरिएको एउटा स्वास्थ्य जाँचले जीवन बचाउन सक्छ, खर्च घटाउन सक्छ। आफ्नो स्वास्थ्यका लागि केही घण्टा छुट्याउनुहोस्, किनकि रोकथाम र समयमै पहिचान नै धेरै रोगविरुद्धको सबैभन्दा बलियो हतियार हो।