वि.सं. २००८ साल भदौ ३० गते भारतको कलकत्ता (कोलकाता) स्थित जनता सिनेमा हल, धर्मतल्लामा नेपाली भाषाको पहिलो चलचित्र ‘हरिश्चन्द्र’ को प्रथम प्रदर्शन भएको थियो।
चलचित्र ‘हरिश्चन्द्र’को शुभमुहूर्त बि सं २००७ साल असोज ७ गतेका दिन भारतको कलकत्ता स्थित टालिगन्जमा भएको देखिन्छ । नेपाली भाषाको पहिलो कथानक चलचित्र ‘हरिश्चन्द्र’ पौराणिक-धार्मिक परिवेशको कथामा आधारित भए पनि यसमा ट्रिक फोटोग्राफी, स्पेसल इफेक्ट्स वा म्याजिक सट्को प्रयोग गरिएको पाइँदैन।
पौराणिक परिवेशको यस चलचित्रमा रोहितलाई मसानघाटमा पोल्न लगिएको दृश्यको पृष्ठभूमिमा भुलबस एउटा रेल गाडी गुडिरहेको दृश्य पनि छायांकन भएको देखिन्छ । त्यस समयमा पनि भारु एक लाख ३० हजारजस्तो ठूलो रकम खर्च गरेर बनाइएको भनिएको चलचित्रमा देखिएको यो गल्तीको प्रसंगमा चलचित्रका लेखक डीबी परियारले स्पष्टीकरण दिँदै ‘त्यस दिन क्यामराम्यान सुरेश दास रक्सी खाएर मातेको अवस्थामा थिए, त्यसैले दृश्य छायांकन गर्दा पछाडिबाट रेल गुडिरहेको उनले थाहा नै पाएनछन्’ भनेको देखिएको थियो । साभारः तस्विरमा नेपाल । तस्विर: ‘हरिश्चन्द्र’ को पोस्टर |