राजविराज । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा थप ११ जनाको शव फेला परेको छ ।
असोज ३ गते आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले आयोजना क्षेत्रमा खोजी गर्ने क्रममा रसुवाको अडिट–३ टनेलको जालीमा अल्झिएको तथा हिलोमा पुरिएको अवस्थामा ती शव फेला पारेको नेपाली सेनाले जनाएको छ । उद्धार टोलीले फेला परेका शवलाई टनेलबाट बाहिर निकाली आवश्यक प्रक्रिया अघि बढाएको छ । बाढीका कारण आयोजनास्थलमा ठूलो क्षति पुगेको छ भने आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरु अझैं सम्पर्कविहीन छन्।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको थियो । बाढीपछि सुरुङ, नदी किनार, हिलोले पुरिएका क्षेत्र तथा जोखिमपूर्ण स्थानमा बेपत्ता व्यक्तिहरूको खोजी कार्य नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीय उद्धार टोलीले संयुक्त रूपमा जारी राखेका छन् । कठिन भौगोलिक अवस्था, बाक्लो हिलो तथा क्षतिग्रस्त संरचनाका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको बताइएको छ । Image Source: Social Media