काठमाडौँ । चर्चित गायिका एलिना चौहानले आफ्नो विगतसँग जोडिएका विषयलाई बारम्बार समाचारमा ल्याएर आफूलाई मानसिक रूपमा पीडा दिने काम नगर्न सञ्चारकर्मी तथा मिडियाकर्मीलाई आग्रह गरेकी छन्।
चौहानले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो धारणा सार्वजनिक गर्दै आफू विगतका घटनाबाट अघि बढिसकेको बताएकी हुन्। उनले आफ्ना पुराना घाउलाई नराम्रो सपना सम्झेर छोडिसकेको भए पनि पुराना विषय र तस्बिरलाई बारम्बार समाचारमा प्रयोग गर्दा ती घाउ पुनः कोट्याइने गरेको उल्लेख गरेकी छन्।
‘मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्,’ उनले लेखेकी छन्, ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्। विगत मेरो जीवनको एउटा अध्याय हो, मेरो सम्पूर्ण जीवन होइन।’ उनले आफ्नो पहिचान बनाउन कसैको नाम वा सम्बन्धको सहारा आवश्यक नरहेको पनि स्पष्ट पारेकी छन्। आफ्नो विगतसँग जोडिएका नाम वा सम्बन्धलाई बारम्बार निकालेर वर्तमान परिचय बनाउनु आवश्यक नभएको उनको भनाइ छ।
चौहानले आफूले आत्मविश्वासका साथ आफ्नो पहिचान निर्माण गरिरहेको बताउँदै सम्बन्धित सबैलाई विगतको अध्याय बन्द गरिदिन आग्रह गरेकी छन्। उनले भ्रामक तथा आफ्नो आत्मसम्मानमा आँच पुर्याउने समाचारहरू निरन्तर प्रकाशित वा प्रसारित भइरहे सम्बन्धित मिडिया तथा व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम कानुनी उपचारमा जाने चेतावनीसमेत दिएकी छन्।