जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं गोर्खाज आठ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले शानदार जित निकालेको छ । पहिलो खेलमा हार बेहोरेको जनकपुरले बिहीबार काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमै दुई विकेटको क्षतिमा पूरा गर्‍यो । जनकपुरको जितमा मोइन अली र सैफ हसनले उत्कृष्ट ब्याटिङ गरे । मोइनले ५१ बलमा तीन चौका र तीन छक्कासहित अविजित ५८ रन बनाए भने सैफले ४० रनको योगदान दिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५ रनमै समेटिएको थियो । काठमाडौंका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे । राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए ।

जनकपुरको बलिङमा राहुल यादव नायक बने । उनले चार ओभरमा चार विकेट लिए । सैफ हसनले दुई तथा कप्तान हरमित सिंह, ललित राजवंशी र मोइन अलीले समान एक विकेट हात पारे ।

यसअघि पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै जितको खाता खोलेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस