राजविराज । उमेर १६ वर्ष, कक्षा ९ मा अध्ययनरत । तर, प्रदर्शन भने अनुभवी खेलाडीको जस्तै । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका युवा बलर राहुल यादव यतिबेला आफ्नो उत्कृष्ट बलिङका कारण चर्चामा छन् ।
मधेश प्रदेशको रौतहटस्थित बौधिमाइ नगरपालिका १ अजगैबीका राहुलले एनपीएलका दुई खेलमा ६ विकेट लिँदै आफ्नो प्रतिभाको प्रभावशाली परिचय दिएका छन् । बिहीबार काठमाडौं गोर्खाजविरुद्ध उनले चार विकेट लिएपछि उनको प्रदर्शनले थप चर्चा पाएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राहुलले चार ओभरमा ३१ रन खर्चेर काठमाडौंका चार ब्याटरलाई पवेलियन पठाए । उनले साम हेजलेट, स्मित पटेल, कप्तान करण केसी र मोहम्मद आदिल आलमको विकेट लिए । राहुलको उत्कृष्ट बलिङमा काठमाडौं ११५ रनमै समेटियो । जवाफमा जनकपुरले आठ विकेटको सहज जित निकाल्यो ।
यसअघि एनपीएलमा आफ्नो पहिलो खेल खेलेका राहुलले कर्णाली याक्सविरुद्ध १५ रन खर्चेर दुई विकेट लिएका थिए । डेब्यू खेलमा केही नर्भस भए पनि विकेट लिएपछि आत्मविश्वास बढेको उनले बताएका छन् ।
खुला मैदानबाट क्रिकेट यात्रा सुरु गरेका राहुलले चन्द्रपुर क्रिकेट एकेडेमीमा आफ्नो बलिङ कौशल निखारेका हुन् । चन्द्रपुर क्रिकेट लिगमा म्यान अफ द म्याच बनेका छन् । उनी जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्टबाट छनोट भएर टोलीमा आइकोनिक खेलाडीका रूपमा आबद्ध भएका थिए ।
कम समयमै एनपीएलमा प्रभाव जमाउन सफल राहुलको प्रदर्शनले नेपाली क्रिकेटमा प्रतिभावान खेलाडीको रुपमा आफूलाई उभ्याएका छन् ।