जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सत्ता समीकरणको गृहकार्य भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादवलाई प्रदेश प्रमुखको कार्यालयमा बोलाएर मुख्यमन्त्री नियुक्त गरिएको हो । यसअघि संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि गरिएको आह्वानअनुसार दलहरूबीच सहमति जुट्न नसकेपछि प्रदेश प्रमुखले उपधारा (३) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाएका थिए । मुख्यमन्त्रीमा नियुक्त यादवले अब संविधानअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।
यसैबीच, मधेश प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणका लागि नेपाली कांग्रेस, जसपा नेपाल र जनमत पार्टीबीच गठबन्धन बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको छ । कांग्रेस नेतृत्वको प्रदेश सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । त्यसपछि नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच छलफल र संवाद तीव्र बनेको हो ।
जसपा नेपाल नेतृत्वमा कांग्रेस र जनमत पार्टीसहित तीन दलको गठबन्धन बनाउने विषयमा सकारात्मक छलफल भइरहेको स्रोतले जनाएको छ । सरकारको नेतृत्व, सत्ता साझेदारी, मन्त्रालय बाँडफाँट तथा सरकार सञ्चालनको साझा आधार तय गर्न तीनै दलबीच गृहकार्य भइरहेको जसपा नेपालनिकट स्रोतले जनाएको छ ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा नेपाली कांग्रेसका २२, जसपा नेपालका २८ र जनमत पार्टीका १२ सांसद छन् । तीन दलबीच सहमति भएमा उनीहरूको पक्षमा कुल ६२ सांसदको समर्थन जुट्नेछ, जुन प्रदेशसभामा सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी हो ।
नेकपा एमालेले कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएपछि मधेश प्रदेशको राजनीति नयाँ सत्ता समीकरणतर्फ अघि बढेको छ । कांग्रेस, जसपा नेपाल र जनमत पार्टीबीच गठबन्धन बनेमा यादव नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने सम्भावना बलियो देखिएको छ ।