राजविराज । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको पेसागत सुरक्षाको माग गर्दै पत्रकारहरूले बुधबार देशैभरीका जिल्ला प्रशासन कार्यालयहरुमा एक घण्टे धर्ना दिएका छन्।
नेपाल पत्रकार महासंघले अघि सारेका मागप्रति सरकारले बेवास्ता गरेको भन्दै महासंघको सप्तरी शाखाको अगुवाइमा पत्रकारहरूले राजविराज स्थित जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शनसहित धर्ना दिएका हुन् । प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर प्रदर्शन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका छन् ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेस्र्याउने कार्यमा संलग्नमाथि कारबाही नभएको भन्दै आपत्ति जनाउँदै महासंघले देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । यसैगरी गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम उपलब्ध नगराइएको विषयमा पनि महासंघले असन्तुष्टि व्यक्त गरेको छ ।
धर्नामा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हक सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले पत्रकारलाई निर्भयपूर्वक समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण बनाउन र पेसागत सुरक्षाको प्रत्याभूति गर्नसमेत आग्रह गरेका छन्।
महासंघले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै प्रेसमाथिको हस्तक्षेप र पत्रकारमाथिको धरपकड लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको जनाएको छ । उठाइएका माग सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलन जारी राख्ने महासंघले चेतावनी दिएका छन् ।
Image: Bindu Kumar Yadav/facebook