राजविराजमा लैङ्गिक हिंसा विरुद्ध कविता वाचन

 

राजविराज, १५ मङ्सिर । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा सोमबार राजविराजमा लैङ्गिक हिंसा विरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको आयोजना र मैथिली महिला परिषद्को संयोजनमा भएको प्रतियोगितात्मक मैथिली कविता गोष्ठिमा राज राय प्रथम, पिंकी झा द्वितिय र मीना साह तृतीय भएका छन् । रायले ‘बलात्कार र न्याय’, झाले ‘सुरक्षित जीवनको अधिकार’ तथा साहले ‘मिथिलाको छोरी’ शिर्षकमा कविता वाचन गरे ।

प्रथम, द्वितिय र तृतीयलाई क्रमशः कार्यक्रमका प्रमुख अतिथी मूल समारोह समितिका संयोजक मनोहर पोखरेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास र मैथिली महिला परिषदकी अध्यक्ष शान्ति झाले पुरस्कार र प्रमाणपत्र वितरण गरिन् । प्रमुख अतिथी पोखरेललाई कार्यक्रमका अध्यक्ष झाले खादा ओढाएर सम्मान गरे ।

प्रमुख अतिथि मनोहर पोखरेलले कोरोनालाई अपराध मान्ने समाजले बलात्कारमा मौन रहन र मिलापत्र गर्न नमिल्ने बताए । हिंसा नगर्ने र नसहने मात्र नभई हिंसा थाहा पाउने हरेकले खबरदारी गर्न आवश्यक रहेको पोखरेलले बताए । लैङ्गिक हिंसा महिलाको मात्र समस्या नभई साझा समस्या हो भनेर बुझ्न, बुझाउन सके मात्र सभ्य समाजको निर्माण गर्न सहज हुने उनले तर्क राखे ।

मैथिली महिला परिषद्की अध्यक्ष झाको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष दास, दहेजमुक्त मिथिलाका अध्यक्ष करुणा झा, राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवाल, समग्र जनउत्थान केन्द्रका सुष्मा गुप्ता, महिला मानवअधिकार रक्षक सञ्जालकी सहसचिव मनु खनाल, मैमपका पूर्व अध्यक्ष सुमित्रा दास, मैथिली साहित्य परिषदका नारायण देवले फरक सोच र व्यवहार घरैदेखि परिवर्तन गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथी पोखरेल, करुणा झा, कार्यक्रम संयोजक प्रतिमा देव, गायिका कञ्चन झा, नारायण देवले समेत लैङ्गिक हिंसाविरुद्ध अप्रतियोगी कविता तथा गीत वाचन गरे । निर्णायक समितिका तर्फबाट रबी रायले समाज परिवर्तनका लागि प्रयास जारी रहनु पर्ने बताउँदै प्रतियोगितामा पुरस्कृत हुनेहरुको नाम घोषणा गरे ।

राष्ट्रिय गीत र गोसाउनी गीतबाट सुरु भएको कार्यक्रममा बन्दना मिश्रले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा मिश्रले हिंसालाई सामान्य रुपमा लिने सोंच, गरिबी, अशिक्षा, चेतनाको कमीका कारण हिंसा बढदै गएकोले कानूनलाई कठोर दण्डनीय बनाउन र सामाजिक सोंच परिवर्तन गर्न जरुरी रहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस