राजविराज नगरपालिकाको दुई सय तीस घर डुबानमा

राजविराज । विगत केही दिन यताको अबिरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिकाको विभिन्न वडाका दुई सय तीस घर डुबानमा परेको छ ।
नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले दिएको जानकारी अनुसार वडा नम्वर ५ मा एक सय, वडा नम्वर ६ मा एक सय र वडा नम्वर १२ मा ३० समेत २ सय ३० घर डुबानमा परेको छ । निरन्तरको वर्षाको पानी बस्तीहरुमा पसेका कारण दैनिकी प्रभावित भएको छ । आइतवारदेखि बाढीको पानी घरमा दुई तीन फिटसम्म पानी जमेको छ । उक्त घरहरुमा चुलो समेत बाल्नसक्ने अवस्था नरहेको स्थानीयले जानकारी दिएका छन् ।

नगरपालिकामा भलुवाहीसहितका नदीको पानी बस्तीमा पसेकोले आफुहरु अत्यन्तै समस्यामा रहेको राजविराज नगरपालिका वडा नम्वर ५ कि राधा देवीले दुःखेसो सुनाईन् । नदीको मुहान साँगुरिदै गएकोले पानीको निकास नहँुदा बस्तीमै पसेर डुबानमा परेको बताउँदै उनले भनिन् ‘वडा अध्यक्षका साथै नगरपालिका कार्यालयमा समेत नदीको व्यवस्थापन गर्न आग्रह गरे पनि हालसम्म सुनुवाई भएको छैन, भोट लिने बेलामा नेताहरु आएर आश्वासन बाँड्ने गरेको छ तर व्यवस्थापन हुन सकेको छैन ।’
हुलाकी सडक सहित अन्य बाटोहरुमा चार फिटसम्म पानी रहेकोले आवागमनमा समेत समस्या भएको छ । यातायातका साधनहरु समेत चल्न सकेको छैन ।
यता नगरपालिकाका मेयर यादवले वर्षा र बाढीले वर्सेनी नगरको विभिन्न वस्तीहरुमा दुःख दिने गरेकोले यसको स्थायी समाधानकालागि आफु प्रयासरत रहेको बताए । नदी अतिक्रमण भएकोले पानी सहज रुपमा बग्न नसकेपछि ओभरफ्लो भएर वस्तीहरुमा पस्ने गरेको उनका भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस