राजविराज, ५ चैत । सप्तरीमा ३३ हजार ७४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार गत माघ १४ गतेबाट सुरु भएको खोप अभियान अन्तर्गत स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारी, सञ्चारकर्मी, जेष्ठ नागरिकले खोप लगाएका हुन् ।
जिल्लामा पहिलो (माघ १४ देखि १४ गतेसम्म), दोस्रो (फागुन २ देखि १० गतेसम्म) र तेस्रो (फागुन २३ देखि चैत १ गतेसम्म) चरण गरी १५ हजार १५ महिला र १८ हजार ७३० पुरुषले खोप लगाइसकेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा ३ हजार ७५४ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ३ हजार ६९३ (९८ प्रतिशत), दोस्रो चरणमा ३ हजार २३८ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ३ हजार ३१ (९४ प्रतिशत) र तेस्रो चरणमा ३१ हजार ४८२ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा २७ हजार २१ (८४ प्रतिशत) जनाले खोप लगाएका छन् ।
सप्तरीका लागि नेपाल सरकारबाट प्रदेश हुँदै ४ हजार १८३ भाइल कोभिशिल्ड नामक खोप प्राप्त भएको थियो । जसमध्ये ३ हजार ५३२ भाइल खोप खर्च भइसकेको निमित्त प्रमुख यादवले बताए । हाल ६५१ भाइल खोप बाँकी रहेको जनाएको छ ।
७ भाइल खोपको अप्रिल १३ मै डेट एक्सपायर हुँदै
सरकारले कोरोना विरुद्ध थालेको खोप अभियान कार्यक्रम तत्काललाई रोकेको छ भने पहिलो चरणमा खोप लगाइसकेका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ गतेदेखि ११ गतेसम्म लगाउने निर्णय गरेको छ । तर, जिल्ला स्वास्थ्य कार्यालय सप्तरीमा भने बाँकी रहेको ६५१ भाइल खोपमध्ये ७ वटा भाइलको अप्रिल १३ (चैत ३१ गते)मै डेट एक्सपायर हुँदैछ ।
सरकारले अनुमति नदिएसम्म खोप लगाउन नमिल्ने भएकाले आफुहरु दुविधामा परेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए । ‘हामीसँग बाँकी रहेको खोपमध्ये ७ वटा भाइल अप्रिल १३ तारिखमै एक्सपायर हुँदैछ’ उनले भने-‘अब सरकारले दोस्रो मात्रा वैशाख ७ गतेदेखि सुरु गर्दैछ, योभन्दा पहिले नै यो भाइल कामै नलाग्ने हुन्छ ।’
मन्त्रालयले अनुमति नदिएसम्म हामीलाई पर्खेर बस्नु बाहेकको विकल्प नरहेको उनले बताए । ‘हामीले पत्र पठाउँदैछु, त्यहाँबाट अनुमति आए हामी राजविराजमै एउटा केन्द्र राखेर ७० जनालाई खोप लगाइसक्नेछौं ।’ अन्यथा केही भन्नसकिने अवस्था नरहेको उनले मधेशलाइभलाई प्रतिक्रिया दिए । उनका अनुसार एउटा भाइलबाट १० जनालाई खोप लगाइन्छ ।