जनकपुरधाम । भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिन २७ सयभन्दा बढी जनाको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या तीब्र गतिमा बढ्दै जाँदा मृत्यु दर पनि उकालो लागेको देखिन्छ ।
वल्र्डोमिटर्सको आइतवार अद्यावधिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २७ सय ६१ जनाको मृत्यु भएको हो । राजधानी नयाँ दिल्लीका अस्पतालहरुमा अक्सिजन अभाव हुँदा संक्रमितको धमाधम मृत्यु हुन थालेको छ ।
दिल्लीमा हिजो एकैदिन २४ हजार १ सय बढी संक्रमित हुँदा ३ सय ५७ जनाको मृत्यु भएको छ । जसका ५० भन्दा बढीको अक्सिजन अभावका कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।
जयपुरमा अक्सिजन अभावका कारण २० भन्दा बढी संक्रमितको मृत्यु भएको छ । महाराष्ट्र, मध्य प्रदेश, पंजाव, हरियाणामा पनि अक्सिजन अभाव हुँदा संक्रमितहरुको उपचार थप जटिल बनेको चिकित्सकहरुले जनाएका छन् । भारतमा अहिलेसम्म संक्रमितबाट एक लाख ९२ हजार ३ सय १० जनाको मृत्यु भइसकेको छ ।