सदा झैं अघिल्लो शनिवार अर्थात वैशाख ११ गते विहान पनि सप्तरीको डाक्नेश्वरी नगरपालिका–७, ब्रहम्पुर निवासी बन्सी दास बाबा नित्यकर्ममा व्यस्त थिए । उनका छोरा जिबछको मोबाइलमा अचानक एक पत्रकार एवम् संस्कृति अभियानीको फोन आयो कि एक लाख राशीको पुरस्कार नेपाल सरकारले प्रदान गर्दैछ । तर उनलाई विश्वास लागेन, तै पनि बुवा बन्सीलाई उक्त कुरा सुनाउँदा एकछिन अलमलमा परे । अनि जीवनको उतर्राद्धमा रहेका बन्सीले ‘करिब ६ दशक कलाक्षेत्रमै बिताए, त्यतिबेला त नचनियाँ गवनियाँको उपमा पाएँ, अब यो बुढोलाई कसले पुरस्कार वा सम्मान दिन्छ ?’ भनी टारे ।
त्यसको केही छिनमै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकापरम्परागत तथा शास्त्रीय संगीत विभाग–प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षीले ‘बन्सी बाबा प्रणाम, हम धीरेन्द्र प्रेमर्षी, बधाई अछि, कला एवम् परम्परागत सङ्गीतके क्षेत्रमे अपनेद्वारा देल गेल योगदानक कदर करैत एक लाख नगद राशीसहित सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान कएल जेबाक निर्णय भेल अछि ।’ यो सुनेर बन्सी भावुक हुँदै ‘धीरेन्द्र बाबु, आभारी छी अपने सभ प्रति, हमरा सन गामघरमे रहएवाला बाबाजीके चयन कएलौं ताहिके लेल ।’ हर्षको आँशु थाम्न सकेन । छोरा जिबछलाई उनले इति वृत्तान्त सुनाए ।
एक कान दुई कान हुँदै यो खबर यतिबेला ब्रहम्पुर गाउँ मात्र होइन, आसपासका गाउँहरुमा चर्चाको विषय बन्न पुगेको छ । यति ठूलो राशीको प्रतिष्ठित पुरस्कार कला संस्कृति एवम् गायन क्षेत्रमा हालसम्म कसैले पाएको थिएन । विगत केही वर्षयता गुमनाम रहेका बन्सीधर मण्डल अर्थात बन्सी दास बाबालाई प्रतिष्ठानको पुरस्कारले पुनः चर्चामा ल्याएका छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले प्रतिष्ठानको एघारौँ वार्षिकोत्सवका उपलक्ष्यमा वैशाख १० गते शुक्रवार काठमाडौँमा आयोजित एक विशेष तथा संक्षिप्त कार्यक्रममा मण्डललाई परम्परागत सङ्गीत क्षेत्रमा विशेष योगदान बापत यस पुरस्कारले सम्मानित गर्न लागिएको घोषणा गरिएको थियो । बर्षेनी ६ जना मूर्धन्य सङ्गीत तथा नाट्य क्षेत्रका साधकहरूलाई प्रदान गरिने सो प्रज्ञा–पुरस्कारअन्तर्गत सङ्गीततर्फ मणिकरत्न स्थापित (काठमाण्डौ), नाटकमा धनबहादुर मल्ल (डोटी), नृत्यमा बेटी बज्राचार्य (काठमाण्डौ), रङ्गमञ्चमा सुनिल मिश्र (धनुषा) र लोकसङ्गीतमा ज्ञानु राणा (काठमाण्डौ)लाई समेत सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट सम्मानित गरिने घोषणा गरिएको थियो ।
वन्सीधर मण्डललाई पुरस्कृत गर्ने निर्णयको सन्दर्भमा प्राज्ञ धीरेन्द्र प्रेमर्षिले देशका कुना–काप्चामा रहेर आ–आफ्नो कला–संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तित्वहरूको समेत पहिचान र सम्मान गर्ने प्रतिष्ठानको उद्देश्य अनुरूप मिथिलाको पारम्परिक नृत्य–सङ्गीतको क्षेत्रमा झण्डै ६ दशकको विशिष्ट योगदानकालागि उनलाई यस पुरस्कारका लागि चयन गरिएको जानकारी दिए ।
को हुन् बन्सी बाबा ?
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर ७ (साबिक ब्रहम्पुर गाउँ विकास समिति वडा नम्वर–२) निवासी स्व. राधा देवी मण्डल तथा भुटाई मण्डलका जेठो छोराको रुपमा बन्सीधर मण्डलको जन्म २००६ सालमा भएको हो । अति विपन्न परिवारमा जन्मिएका उनले गाउँकै विद्यालयमा प्राथमिक शिक्षा आर्जन गरी भारतको लौकही स्थित श्री सूर्य प्रसाद उच्च एङ्गल विद्यालयबाट कक्षा ११ सम्मको शिक्षा आर्जन गरेका हुन् । गाउँकै विद्यालयमा प्राथमिक शिक्षा अध्ययनसँगै उनी कला क्षेत्रमा लागेका थिए । शुरुमा बाल कलाकारको भूमिकाबाट गाउँकै स्टेजबाट उदाएका उनले लौकहीमा अध्ययनरत रहँदा प्रतिभाकै कारण पूर्ण छात्रवृत्ति पाएका थिए ।
त्यतिबेला मनोरञ्जनका साधनहरु थिएनन् । सिनेमा हलहरु पनि थिएनन् । दशमी, दिपावली, छठ, श्रीपञ्चमी, नयाँ वर्ष, विवाह, द्विरागमन, व्रतवन्ध, मुण्डन, छठिहार सहितका शुभकार्यहरुमा नाटक, नौटङ्की, छोक्कडबाजी, लोकनाच, रामलीला, कृष्णलीला, थियेटर इत्यादि मनोरञ्जनका प्रमुख माध्यम हुने गर्दथ्यो । उक्त कार्यक्रमहरु हेर्न गाउँ तथा भर्खर विकसित हुँदै गएका सहरका मानिसहरु समेत झुम्मिन्थे । बन्सीका अनुसार त्यतिबेला विद्युत थिएन । शुरुका चरणमा मशालको उज्यालोमा मनोरञ्जनात्मक कार्यक्रमहरु हुने गर्दथ्यो । पछि मट्टीतेलबाट चल्ने पेट्रोमेक्सको उज्यालो आयो ।
सांस्कृतिक कार्यक्रमहरु आयोजना हुँदा मञ्चमा महिलाको उपस्थिति बिलकुलै थिएन । महिला दर्शक समेत अत्यन्तै न्यून हुन्थ्यो । पछि महिलाहरुकालागि छुट्टै व्यवस्थित घेरा बनाईन्थ्यो । नारीको भूमिका पुरुषले नै निभाउने गर्थेे । नारीको भूमिकानिभाउन हत्पति पुरुषहरु तयार हुँदैनथे । किनभने पछि गाउँमा महिला पात्रकै नाउँबाट सम्बोधन गरिन्थ्यो । युवती वा महिलाको भूमिका सुहाउने युवाको चयन गर्ने मूल आधार हुन्थ्यो दुब्लो पातलो, सकभर जुङ्गा नआएको वा पातलो जुङ्गा भएको, आकर्षक अनुहार, महिला जस्तै सम्वाद बोल्नसक्ने ।यस्तै क्षमता भएका युवा थिए बन्सी । गाउँमै उनलाई एक नाटकमा नारी पात्रको भूमिकामा उतारिएको थियो । उक्त अभिनय दर्शकहरुले औधी रुचाए । सम्वाद बोल्न तथा गायनकालागि समेत सुरिलो आवाज रहेका कारण महिला पात्रकालागि उनी ब्राण्डको रुपमा नै स्थापित भए ।
बन्सीले मोरध्वज, हरिश्चन्द्र, लैलामजनू, भिखारिन, धुलका फूल, छोटी बहन, अमरसिंह राठौर, सुल्ताना डाकु, दयाराम डाकु, लज्यावती, पति भक्ति, दहीबाली, दहेजको मिटा डालो, जलाकर राख कर दूँगा, फेक दो कलम उठालो बन्दूक, गाउँका दलाल जस्ता दर्जनौं नाटक तथा नौङ्कीहरुमा मुख्य नायिकाको अभिनय गरेका छन् । यस अतिरिक्त चर्चित लोक नाच सलहेश, अल्हा–रुदल, सती बिहुला,जङ्गली वादशाह जस्ता पारम्परिक लोकनाचहरूमा समेत महारानी अर्थात मुख्य नायिकाकै भूमिका कुशलतापूर्वक निभाउन सफल भए । सलहेश नाचमा मालिनको भूमिका अत्यधिक चर्चित रह्यो ।
कक्षा ११ को अध्ययन सकाएर घर फर्किएका उनले कला संस्कृतीको जगेर्ना गर्न तथा युवाहरुलाई आवद्ध गराउनकालागि गाउँमै हिमालय क्लव खोले । उक्त क्लवको माध्यमले सामाजिक कार्यहरुसँगै कला संस्कृतिको जगेर्नामा जुटे । सोही क्रममा उनी मास्टरी गर्न धनकुट्टा पुगे तर त्यहाँ केही समय मात्र बसे । २०२२ साल कार्तिक १२ गते तत्कालिन प्राथमिक विद्यालय जण्डौल (सप्तरी) मा शिक्षकको नियुक्ति पाए । त्यहाँ पनि बसाईका क्रममा अभिनय तथा गायनमा दर्जनौं युवाहरुलाई प्रेरित गरे ।
केही वर्षपछि गाउँ नजिकै पर्ने निम्न माध्यमिक विद्यालय कबिलासामा सरुवा भए । त्यस क्रममा उनी पत्थरगाडा निवासी स्व. धनराज साहले सञ्चालन गरेको पशुपति थियेट्रिकल कम्पनीमा आवद्ध भएर लामो समयसम्म काम गरे । खासगरी उनले नायिका, कामदार, गरिबको छोरीको भूमिका निर्वाह गरे भने पछिल्लो समय डाकु, गरीब ईत्यादिको भूमिका निर्वाह गरे । उनका अनुसार त्यतिबेला सप्तरीसहित आसपासका जिल्ला र भारतको बिहारमा धनराज कम्पनीको निक्कै माग थियो । लामो समयसम्म कलाक्षेत्रमा सक्रिय रहेको उक्त कम्पनी पछि सुशुप्त हँुदैगएपछि मण्डलले तत्कालिन मन्त्री एवम् हाल राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले सञ्चालन गरेको कम्पनीमा समेत काम गरे । कलाकारितालाई जीवन्त राख्न बन्सीले आसपासका गाउँहरु पुगेर युवाहरुलाई गायन तथा अभिनय सिकाउने काम समेत गरे ।
बन्सीका अनुसार त्यतिबेला सँगै काम गरेका अधिकांश सहकर्मीहरुको देहावसान भईसकेको छ । मजो मियाँ, हार्मोनियम मास्टर नसिबलाल गुप्ता (रेडियो नेपालमा मैथिलीका प्रथम गायक), दयाराम चौधरी, रामेश्वर चौधरी, तेतर चौधरी, सुखदेव विश्वकर्मा, रामेश्वर चौधरी,नन्दलाल विश्वकर्मा, मो. आसिन मियाँ, मुनेश्वर राम, चुल्हाई प्रसाद सिंह, विन्दी विश्वकर्मा, सजनलाल गुप्ता, सबुजलाल गुप्ता, घुरन राम, विष्णुदेव विश्वकर्मा, लक्ष्मी मियाँ, बुदुरलाल विश्वकर्मा सहित उनका सहकर्मी कलाकारहरुथिए ।
उनी उमेरको हदका कारण २०६६ साल माघ ५ गते अवकाश भएयता साहित्य तथा पारम्परिक गायन एवम् भजन किर्तनतर्फ मोडिए । मैथिली साहित्य परिषद्, राजविराजको आजीवन सदस्य समेत रहेका उनले सयभन्दा बढी कविता तथा गीत रचना गरेका छन् । अवकाशपछि पनि कलाकारिता क्षेत्रबाट उनको मोह हटेन । पेन्सन वापतको रकमबाट मोन होइयऽ अहाँके देखते रही…नामक मैथिली गीति एल्बम तथा बन्सी रचना नामक कविता एवम् गीत सङ्ग्रह सार्वजनिक गरे । बन्सी दास बाबाको नामले परिचित रहेका उनले उठू उठू बौवा बुची भोर भऽ गेल, चहँुदिस शोर भऽ गेल छोडू छोडू बिछाओन अबेर भऽ गेल…, परम प्रिय सुन्दर मिथिलाधाम…, भोर भिन्सरबा भोरुकवा किलोल करैय, गीत भजनक समागम अमृत घोलैय… जस्ता गीतहरु गाएका छन् ।
हाल संन्यास आश्रममा रहेका बन्सी हनुमान अराधना, भजन, किर्तन, रामायण पाठ ईत्यादिमा सक्रिय छन् । उनको नशानशामा कलाकारिता छ । भजन किर्तन, अराधना वा जागरण आयोजन हुँदा बन्सी ७२ वर्षको उमेरमा पनि खुट्टामा घुँघरु बाँधेर नाच्ने गर्छन् । यो उमेरमा पनि उनको यो जोश देखेर दर्शकहरु तीनछक्क पर्छन् । गाउँ–समाजकालागि केही गरेर जानुपर्छ भन्ने सङ्कल्पका साथ बन्सीयतिबेला धर्मशाला निर्माणमा जुटेका छन् ।
परम्परागत गीत, सङ्गीत एवम् गायनमा युवाहरुको आकर्षण घट्दै गएकोमा उनी चिन्तित छन् । बन्सी भन्छन् ‘पहिला मिथिला मधेशका गाउँगाउँ कलाकारितामय हुन्थ्यो, नाटक, नौटङ्की, छोक्कडबाजी, लोकनाचहरु निरन्तर आयोजना हुन्थ्यो तर ती सबै हराउँदैगएको छ, अश्लिलता र उछृङ्खलताले प्रश्रय पाएको छ ।’ कलाकारितामा श्रृजनात्मकता हुने भएको तथा समुदायको पहिचान समेत भएकोले यसलाई जीवन्त राख्न कलाकारहरुलाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
के भन्छन् साहित्यकार एवम् संस्कृतिकर्मीहरु ?
नयाँ पिढींकालागि बन्सीको नाम नौलौ रहे पनि पुराना पुस्ताकालागि भने उनको नाम नौलो भने होईन । ग्रामिण लोकजीवनमा रहेर आजिवन कलाक्षेत्रमा समर्पित गरेका व्यक्तित्वलाई सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट पुरस्कृत गर्नुले समग्र कलाक्षेत्रको सम्मान भएको साहित्यकार देवेन्द्र मिश्रको प्रतिक्रिया छ । गाउँघरमा रहेका कारण ओझेलमा परेका श्रष्टाले सम्मान पाएकोमा खुशी व्यक्त गर्दै उनले यस्ता धरोहरको रुपमा रहेका कलाकारहरुलाई प्रोत्साहन गर्ने कार्यले निरन्तरता पाउनुपर्ने बताए ।
यस्तै प्रतिक्रिया रहेको छ मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता विष्णु कुमार मण्डलको । मिथिला क्षेत्रमा रहेका बन्सी बाबा जस्ता समर्पित कलाकारले सम्मान पाउनुले अत्यन्तै सुखद् सन्देश दिएको बताउँदै उनले भने ‘विगतमा कलाको माध्यमले दशकौंसम्म मनोरञ्जनका साथै सामाजिक रुपान्तरणमा जीवनको उर्जावान समय खर्चेका व्यक्तिहरुको खोजीनीति हुनु आवश्यक छ ।’
(लेखक यादव आमसञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष हुन् ।)