प्रा. डा. राजेन्द्र विमल
तिनलाई रगत र मासु असाध्यै मनपर्छ !
र, गणतन्त्रको एउटा कुरूप बुख्याँचा उभ्याएर
हामीलाई ढोग्न भन्छन्
आफू सिंहासनमा बसी, सहिदहरूको हत्याउत्सव मनाउँछन्,
किनभने तिनलाई रगत र मासु असाध्यै मनपर्छ !
अस्ति काभ्रे जान हिंडेका
एउटा बूढा बाले गणतन्त्रको त्यस बुख्याँचासित
एक गाँस भात मागे,
भात भात भन्दै ढले बूढा बा,
तर बुख्याँचाले भात दिएन
बाको कुहिन लागेको लाश मात्रै फेलापर्याे
किनभने लाश तिनलाई असाध्यै प्यारो छ !
रुकुमको नवराज वि. क. ले
त्यो बुख्याँचासित प्रेम गर्ने अधिकार माग्यो
बुख्याँचा बोल्यो, ‘तेरो जात के ?’
वि. क. ले भन्यो, ‘प्रेमको जात हुँदैन ।’
बुख्याँचा हाँस्यो,
अनि एउटा प्रेमी लाश बनेर ढल्यो
मधेसका मलरा सदा र वीरेन्द्र गोइतले
बुख्याँचासित कराई कराई प्राण रक्षाको भीख मागे, तर,
लाश भएर ढले ,
किनभने रगत, मासु र पसिनाको भोजन
सिंहासनमा बसेर गर्दा तिनी रमाउँछन् !
सुन्दैछु, एउटा नदी किनारमा हाम्री आमा
अपहरणमा परी निस्सासिंदै
सबैसित एक मूठी साँस माग्दै छिन्, ,
म शोकाकुल भई सोच्छु,
आमा फर्किन्छिन् कि सिकारीले मारेको मृग झैं
लाशमा परिणत भई, कसैको आहारा बन्छिन् ?
तिनको के भरोसा ?
तिनलाई त रगत र मासु असाध्यै मनपर्छ,
त्यो आमाकै किन नहोस् !