जनकपुरधाममा पनि सोमवार मध्य रातिबाट निषेधाज्ञा जारी

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकामा पनि सोमवार मध्य रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी भएको छ ।

जिल्ला सुरक्षा समितिको आइतवार बसेको बैठकले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति सो निर्णय गरेको हो । स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिले सोमवार राति (साउन १९ गते) १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई बताए ।

सो अवधिमा अत्यावश्यक काम बाहेक घरबाट ननिस्किन आग्रह गरिएको छ भने अनावश्यक रुपमा बाहिर निस्किनेलाई कारवाही गरिने जनाएको छ । यसअघि प्रदेशका सप्तरी, पर्सा सहितका केही स्थानमा पनि संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस