उहाँ

अक्षान्त

–अक्षान्त

‘यस ठण्डीमा तपैँ चारचौरास हिँडडुल गरेको मलाई चैं मन परेन ।’ फेसबुक म्यासेन्जरमा यस्तो म्यासेज आइसकेको रहेछ ।
सुरुमा त झनक्क रिस उठ्यो । मैले खोजेको एउटा कुरो थियो । उहाँले अर्कै कुराको उत्तर लेख्नुभएको थियो । प्रश्न पनि सरल तरिकाले नै सोधेको थिएँ । सकस पर्ने जवाफको अपेक्षा पनि थिएन । ‘हुन्छ’ भन्दा पनि ठीकै थियो । ‘हुन्न’ भन्दा पनि कुनै पहिरो खस्नेवाला थिएन । कुरो बङ्ग्याएर जवाफ पस्कनुलाई त्यसबेला मैले किमार्थ उचित ठह¥याइनँ ।
यद्यपि जवाफ लेख्नु नै थियो । आक्रोस पोख्न वा कृतघ्न देखाउन नैतिकताले पनि मिल्दैनथ्यो । मनभित्र कताकता चिमोटिएको आभाष भइरहेको थियो । त्यसको अनुभूति पीडादायी थिएन, मनलाई पुलकित पार्ने खालको थियो । झटपट मैले पनि लेखिदिएँ– मप्रति अर्पित सदाशयताका ओजनदार शब्दका लागि आभारी छु ।
०००००
२०४७ सालतिर हुनुपर्छ । उदयपुरको पाखाभित्तामा जन्मी–हुर्की गरेर गाउँले संस्कार मात्र जानेको म बबुरो पढ्न भनेर राजविराजको सरकारी क्याम्पसमा भर्ना भएको थिएँ । त्यसबेला उहाँ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सचिव हुनुहँुदो रहेछ ।
उत्तिबेला हाम्रो मानविकी संकायको कक्षा विहान ६ बजेदेखि दिउसो १ः३० बजेसम्म चल्थ्यो । जम्मा ५ विषयका लागि लामो समयावधि कुर्नुपर्दा हामी नेपाली, अर्थशास्त्र र इतिहास पढ्ने विद्यार्थीहरू हैरानमा थियौँ । अरू मेजर विषयको रुटिङ मिलाउँदा बीचमा लामो अन्तराल भएको भन्ने सुनिन्थ्यो । यद्यपि शिक्षकको सुविधालाई ध्यान दिँदा हामी मारमा परेको कुरा प्रष्टै थियो । यस विषयमा निस्केको असन्तोष आफूमै सीमित हुन्थ्यो । क्याम्पस प्रशासन समक्ष पुग्दैनथ्यो ।
पढेर लङ्काटोलस्थित डेरामा फर्कँदा भोकले नौनाडी फतक्कै हुन्थे । हत्त न पत्त भात बसायो र घरबाट ल्याएको गुन्द्रुक उमाल्यो । हतारहतार गर्दै कपाकप खायो । र, विश्रामका लागि ओछ्यानमा ढल्कियो । साँझमा बजारतिर भौतारियो । हरियापरियो तिहुन तरकारी किनमेल गरी फर्कियो । पकायो, खायो, केहीबेर किताब पल्टायो अनि निदायो । त्यसबेला यस्तै दिनचर्या थियो ।

उहाँको घर पनि लङ्काटोलमै रहेछ । उत्तिबेला मैले चाहिँ पत्तो पाएको थिइनँ । उहाँ सामान्य कदको, मधुर बोलीबचनको र आकर्षक व्यक्तित्व भएको हुनुहुन्थ्यो । म नयाँ ठिटो जो कोहीसँग बोल्न हिच्किचाउँथेँ । उहाँ हात मिलाउँदै आउनुहुन्थ्यो । अप्ठ्यारो मान्दै म हात अघि बढाउँथेँ । उहाँ केही पीरमार्का छ कि भनेर सोध्नुहुन्थ्यो । म मुख खोल्न सक्दिनथेँ । मुन्टो हल्लाएरै ‘छैन’ भनेर सङ्केत गर्थें ।
‘छ भने भन्न नहिच्किाउनुस् है । राजविराज नगरभन्दा बाहिरबाट आउनुभएकोले सोधेको हुँ ।’ उहाँ अघि बढ्दा बढ्दै भन्नुहुन्थ्यो ।
हुन त त्यसो भन्ने अरू अग्रज विद्यार्थी साथीहरू पनि हुन्थे । यद्यपि तिनीहरूको बोलीमा उहाँको जस्तो आत्मीयता झल्कन्नथ्यो । अरूमा चुनावी कृतिमता छताछुल्ल झल्कन्थ्यो । किनभने स्ववियु निर्वाचन चाँडै हुने हल्ला थियो ।
‘यो ठिटो कुन संगठनको विद्यार्थी नेता रहेछ ?’ उहाँलाई देख्नासाथ मनले मनसँग प्रश्न सोधिरह्यो । मनको प्रश्नले जवाफ पाउने कुरै थिएन । उहाँ नजिक उभिएका विद्यार्थी नेतानेतृले रुख पाटीको खोइरो खनेको सुन्दा उहाँ घाम पाटीतिरको विद्यार्थी नेता हुनुहुँदो रहेछ भनी अनुमान लगाएको थिएँ ।
हुन त त्यसबेला क्याम्पसमा अखिल र नेविसंको मात्र चर्चा थियो । जो भए पनि यी दुबै मध्ये कुनै एकतिरको होला भन्ने लाग्यो । सद्भावना पार्टीको विद्यार्थी संगठन धेरै पछि गठन भयो । त्यसैले राम्रो गरे पनि नराम्रो भए पनि दुबै संगठनको भागमा मात्र पर्न जान्थ्यो ।
एक दिन हामी कक्षामा पढिरहेका बेला एक्कासी होेहल्ला मच्चियो । केके न भएजस्तो गरी कक्षाका विद्यार्थीहरू होहल्लामा मिसिन दगुरे । शिक्षकहरू समेत कक्षा छाडेर अफिसतिर लागे । हामी पनि कोलाहल मच्चिएका ठाउँतिर हानियौँ ।
स्ववियु कक्षका सारा फर्निचरहरू कक्ष बाहिर थिए । एक थरीको विद्यार्थी समूह फर्निचर तोडफोड र भाँचकुँच पार्ने सुरमा थियो । अर्को समूह अमूक बनेर दृष्य हेरिरहेको थियो ।
उहाँले भने हातमा रजिष्टर लिनुभएको थियो । तोडफोड नगर्न रोक लगाइरहनुभएको थियो । घरि उत्तर फर्केर हात फैलाएर छेक्न खोज्नुहु्न्थ्यो । घरि दक्षिणतिर लम्केर अर्काले भाँच्न उठाएको कुर्सी खोसेर सुरक्षित पार्नुहुन्थ्यो । अपराधिक मनोविज्ञानका ठिटाहरू थपिँदा थिए । उहाँलाई साथ दिने चरोमुसो पनि थिएन । हामी निरीह ठिटाहरू दर्शकबाहेक अर्थोक हुन सकेका थिएनौँ ।
‘ए, पोख्रेल दाजु ! तपाईं किन हाम्रो काममा वाधा गर्नुहुन्छ ? किन बेक्कारमा आफ्नो टाउको फुटाउन चाहनुहुन्छ ? कि यहीँ सहिद भएर आफ्नो सालिक ठडियोस् भन्ने चाहनुहुन्छ ?’ अपराधिक समूहबाट कसैले भनेको थियो ।
‘सस्तो लोकप्रियतामा म विश्वास गर्दिनँ । चाहे जेसुकै गर्नुपरोस् या सहनु परोस्, म सार्वजनिक सम्पत्ति नाश भएको टुलुटुलु हेरेर बस्न सक्तिनँ । असन्तोष के कुरामा हो ? शान्त भएर वार्ता गरौँ । निकास निकालौँ । यी वस्तुमा क्षति पु¥याएर आफ्नो घुँडामा आफैँले बञ्चरो नहानौँ । भन्नुस्, समस्या के हो ? समाधानमा म अग्रणी भूमिका खेल्ने प्रतिबद्धता जाहेर गर्छु ।’ तत्कालै उहाँले लामै प्रतिक्रिया दिनुभएको थियो ।
उत्तेजित समूहले जथाभावी तोडफोड गरिरह्यो । छेक्न अग्रसर हुँदा उहाँ टाउको फुटेर रक्तमुच्छेल हुनुभयो । साथीहरूले उहाँलाई उपचारार्थ सगरमाथा अञ्चल अस्पतालतिर दौडाए । निर्वाद्धरूपले तोडफोडको काम सकेर उत्तेजित समूह कतै विलायो । मलाई चाहिँ थाहा भएन ।
०००००
धेरै दिन पछि उहाँलाई अस्पताल परिसरमा रक्तदान गर्न ओछ्यानमा सुतेको अवस्थामा फेला पारेँ । उहाँसँगै अन्य रक्तदानीहरू पनि सुतेको देखेँ । त्यसबेला भर्खरै राजविराजमा ब्लडबैँक स्थापना भएको थियो ।
त्यत्तिखेर मैले आफ्नो खुन दान दिएर आफैँ सुक्नुछैन भन्ठानेँ । यो उहाँको लोकप्रियता कमाउने सस्तो बाटो हो भन्ने कुरा मनमा खेलाएँ । आफूलाई मारेर अरूलाई बचाउने काइदा विल्कुलै गलत भएको ठहर गरेँ ।
धेरै पछि आफैँ समस्यामा परेपछि उहाँ ठीक रहेको र मेरो बुझाइ नै गलत भएको ठहर गर्न पुगेँ । कुरा के भयो भने डा. एल. बी. थापाले मेरी माल्दिदी भोजकुमारीलाई चार पौण्ड रगत चढाउनुपर्छ भने । ए पोजेटिब रगत ब्लड बैँकमा पाइएन । ज्यान जोखिममा भएकाले तुरुन्तै रगत दिनुपर्छ भनेर डा. थापाले घच्घच्याई रहेका थिए । विराटनगर जान पनि बन्द हडतालले छेकेको थियो । अर्कातिर सुझबुझको कमी पनि थियो ।
सात महिना अघि जन्डिसबाट थलिएर उठेकाले दिदीका लागि मैले रक्तदान गर्न नमिल्ने रहेछ । सबै नचिनेका र नजानेका मानिसहरू मात्रै थिए । मेरी दिदीका लागि कसले रक्तदान गर्ने !
‘सास छँदै आश मार्नु हुन्न । खोजी गरे कोही दानी मानिस अवश्य भेटिन्छ । आँखाभरि आँसु पारेर चुपचाप थच्चिरहे दिदीको लास मात्र लिएर जानु पर्ला ।’ डा. थापाले आश पनि देखाए, सम्भावित त्रास पनि औँल्याउँदै भने ।
गोरगाम्मा गाउँमा चिनेजानेका मौद्री मुखिया नामका अधबैँसे थिए । उनैकहाँ बह बिसाउन पुगेँ । उनले रगत दिन एक मुसहर दाइलाई तयार पारी दिए । सत्र हजार खर्च दिएपछि उनले रगत दिए । त्यसले पहाडकी गोरी मेरी दिदीको शरीरमा सबा दुई पौण्डको काम गरेछ । मेरी दिदीको ज्यान बच्यो ।
त्यसबेला मैले रक्तदानको मूल्य र महत्ता नजिकैबाट थाहा पाएँ । अहिलेसम्म उहाँले दर्जनौँ पटक रगत दान गरिसक्नुभयो । दर्जनौँलाई नयाँ जीवन दिने काम गरेको सम्झेर म उहाँको मानवतामयी हृदयलाई सलाम गरिरहेछु ।
०००००
२०६२ को अन्त्यतिरको समयमा गुमेको जनाधिकार फर्काउन सडक तातिने क्रम तीव्र थियो । दिनानुदिन चर्का नाराबाजी र गरम भाषणले राजविराज नगरी उत्तेजित हुँदै थियो । लाटा मनहरू पनि ज¥याकजुरुक उठ्न थालेका थिए । भोक, तिर्खा, कमाइधमाइ नभनीकन विहानैदेखि चहलपहल शुरु हुन्थ्यो । पानीको फोहोरा, अश्रुग्यास, सुरक्षाकर्मीको ज्याजती र आन्दोलनरत् समूहले गरेको तोडफोडले वातावरण भयाभित बन्दै थियो ।
त्यसैबेला एकपटक एक्कासी देखेँ– नेताचौकमा सुरक्षाकर्मीहरू बीचमा उहाँ हुनुहुन्थ्यो । उहाँलाई लछारपछार गरिरहेका थिए । उहाँ केके बरबराई रहनुभएको थियो । अन्य सञ्चारकर्मी र आन्दोलनरत् ठिटाठिटीहरू तितरबितर भइसकेका थिए ।

अन्ततः उहाँ प्रहरी हिराशतमा पर्नुभयो । प्रहरीले झुकाउन खोज्यो । माफी मागेर राज्यको पक्षमा उभिए माथिबाट पुरस्कार पाइने र इज्जतको जिन्दगी भेटिने, नमागे जेलमा सडिने र बेइज्जत मात्र हात लाग्ने चेतावनी दियो ।
‘के अहिलेसम्म चन्द्र–सूर्य झुकेको देख्नुभएको छ ?’ उहाँले उल्टै सोध्नुभएको थियो ।
सोध्ने प्रहरी अफिसरले मुन्टो हल्लाएर ‘छैन’ भन्ने संकेत ग¥यो ।
‘उसो भए म पनि त्यस्तै हुँ । जहिले चन्द्र–सूर्य झुक्छन् तहिले मेरो शिर झुक्छ ।’ त्यसबेला उहाँले सहजै जवाफ दिनुभएको थियो ।
अफिसरले हार मानेछ र झुकाउने बैकल्पिक बाटाहरू खोज्न थालको थियो ।
दुई दिनपछि उहाँकी आमा मेनका बस्नेतलाई भेटेछ । छोराको जीवनरक्षा चाहने हो भने आत्मसमर्पण गर्न लगाउन समय दिन्छौँ भनेछ ।
‘हामी साफ, साफ भन्छौँ । तपैँजस्तो ज्येष्ठ नागरिकका आँखामा आँसु आओस् भन्ने चाहन्नौँ ।’ प्रहरीले त्रासमय वातावरण बनाएर आमासँग भनेछ ।
आमाको मन बन्दै गलेनछ । घरपरिवारमा सिकेको संस्कारले उहाँलाई पछि सर्न दिएनछ ।
‘ऊ बुलबुल र म मेनकाको रगतको निशानी हो । इमान छोड्न सक्तैन । बेइमान गर्न जानेको छैन । तपैँहर्को कानुनले सक्छ भने जेलनेल हालोस् । सक्तैन भने निःसर्त र सम्मानका साथ घर पठाओस् । हामीले उसलाई चुक्न र झुक्न सिकाएकै छैनौँ ।’ ७१ वर्षीय मेनकाले भनेका कुराले प्रहरी मुर्मुरिएछ ।
कसै गरे पनि आमाको मनलाई पगाल्न नसकेपछि प्रहरीले एकपछि अर्को हतकण्डा अपनाउँदै गएछ ।
उहाँको मुद्दा अघि बढाएछ । फलतः उहाँ राजविराज जेलको एक कैदी हुनुभएछ ।

जेलमा उहाँ कैदीहरूलाई पढाउनु हुँदो रहेछ । ‘कैदी माष्टर’ उपनामले चिनिसक्नुभएको रहेछ । बिहान बेलुका योग, ध्यान र प्राणायाम सिकाउनु हुँदो रहेछ । त्यसैले उहाँको अर्को उपनाम ‘कैदी योगी’ बनेको रहेछ । कैदीको खानपिन, सरसफाइ, कैदी सीधा आदिमा सुधारमा ल्याउन अग्रणी र दबाबमूलक कामहरू गर्नुभएको रहेछ । गोष्ठी–छलफल, मनोरञ्जनात्मक कार्यक्रम, भित्तेपत्रिका प्रकाशन र रक्तदान जस्ता कामहरू सञ्चालन गरी कैदीहरूको सोचसमझमा व्यापक परिवर्तन गरेकाले ‘कैदी समाजसेवी’ भनेर पनि उहाँ परिचित हुनुभएको रहेछ ।
जेल प्रशासनमार्फत् प्रहरीले उहाँलाई सास्ती दिन खोजेको रहेछ । उहाँको यस्तो रिपोर्ट पाएर उल्टै प्रहरी नतमस्तक भएछ ।
‘उहाँजस्ता आधा दर्जन पनि कैदी यहाँ भए जेल स्वर्ग बन्थ्यो । जेल यातनागृह हुन्नथ्यो, वास्तविक सुधारगृह बन्थ्यो । यहाँबाट सिकेर जो बाहिर जान्छ, ऊ सामान्य मान्छे भएर हैन असामान्य भएर निस्कन्थ्यो । र, समाजमा मानव मात्र नभई महामानव कहलिन सक्थ्यो । किनभने यो नै व्यवहारको वास्तविक विश्वविद्यालयका रूपमा चिनिन्थ्यो ।’ जेल प्रकाशकको मत सुनेर प्रहरी केही नबोलीकन फनक्क फर्केछ ।
०००००
खासमा म उदयपुरका बयोवृद्ध सर्जक तेजनारायण शेर्पा ‘रञ्जन’का कृतिलाई जिउँदो राख्न चाहन्थेँ । सगरमाथा साहित्य परिषद्, नेपाल प्रकाशक भई रञ्जनका वारेमा डकुमेन्ट्री बनोस् भन्ने चाहन्थेँ । अनेक थरी काममा हात हालेर समाजमा सम्मानित नाम बनाइसक्नुभएको कारण मात्रै नभई वाचन कला र गला खुबै भएको कारण डकुमेन्ट्रीमा उहाँले नै उद्घोषण गर्दा बेस हुन्छ भनेर प्रस्ताव स्वरूप फेसबुक म्यासेन्जरमा म्यासेज लेखेको थिएँ ।
अर्कातिर म लोभिएको थिएँ– उहाँले हात हालेका हरेक काम सफल हुँदै आएको प्रमाणहरू मसँग थिए । एक पटक उहाँ र मलाई उद्योग वाणिज्य संघले स्मारिका निकाल्ने जिम्मेवारी दिएको थियो । त्यो काम रातारात जागा बसेर र सरोकारवालाहरूको घरदैलो पुगेर समयमै सम्पन्न भएको थियो ।

उहाँले पारिश्रमिकका लागि कहिल्यै मरिहत्ते पनि गर्नुभएन । न्युनतम पारिश्रमिकमां पनि जोतिरहनुभयो । आफूले मन पराएको र सम्पन्न गर्छु भनेर जिम्मेवारी लिएको काम उहाँ फत्ते नगरी चयनले बस्नुहुन्नथ्यो ।
चार वर्ष अघि ‘जनमत’ साहित्यिक मासिक पत्रिकाका प्रधान सम्पादक मोहन दुवालले उहाँको जिल्लाको साहित्य विशेषाङ्क निकाल्ने कुरा गरेका रहेछन् । त्यसका लागि जिल्लाका साहित्यकारहरूबाट रचना सङ्कलन गरेर प्रेषण गर्न अनिल अनललाई सुम्पेका रहेछन् । त्यत्रो समयसम्ममा पनि रचना संकलन हुन सकेको थिएन ।
२०७६ को प्रारम्भसँगै सम्पादकको गुनासो मकहाँ आइपुग्यो । साहित्यप्रेमीको नाताले मैले पनि हुन्छ भनेर भरोसा दिएँ । अनिल अनलसँग कुराकानी गर्दा जिल्लाभरि सूचना सम्प्रेषण भएको र सोझै ‘जनमत’को ठेगानामा रचना पठाउन भनेको जानकारी पाएँ ।
उहाँको जिल्ला मैथिली साहित्यमा अघि भएको तराईको जिल्ला थियो । काठमाडौँ नजिक बनेपाबाट निस्कने र मुलुकभरि पुग्ने ‘जनमत’ पत्रिकामा मैथिली भाषा मात्रै राख्न सुहाउन्नथ्यो । सबैलाई समेट्न सुहाउँदिलो उपाय अपनाउनु जरुरी थियो । त्यसमा धेरै मेहनत गर्नु पथ्र्यो । जनसम्पर्क बढाउनुपथ्र्यो । उल्टै गोजीको नगद नारायण स्वाहा हुन्थ्यो ।
त्यसका लागि पनि उहाँ नै उपयुक्त व्यक्ति हुनुहुन्छ भन्ने लागिरह्यो । सगरमाथा साहित्य परिषद्को अध्यक्ष भएको नाताले पनि उहाँले रथको लगाम लिनुपर्छ भन्ने लाग्यो मलाई । उपयुक्त समय मिलाएर उहाँ समक्ष कुरा राखेँ । सुरुमा उहाँ हिच्किचाउनुभयो ।
‘लिएको जिम्मा पूरा गर्न सकिएन वा फलदायी रूपमा गरिएन भने आफ्नो मात्रै हैन आफ्नो जिल्लाकै बदनाम हुन्छ । सबैतिर आफ्नो ज्ञान पनि हुन्न । जानकारी पनि अधुरो र अपुरो हुन सक्छ । जिम्मा लिने र धोका दिने काम मबाट हुँदैहुन्न ।’ उहाँले स्पष्ट शब्दमा आफ्ना कुरा राख्नुभएको थियो ।

म नतमस्तक भएको थिएँ । जिल्लाभरि मेरो बोली बिके पनि बरोबर झकझकाउने र घरदैलोसम्म पुग्ने सामथ्र्य मसँग थिएन । उहाँ नै जुटे मात्र सफल भइन्थ्यो । नत्र ढोँगी काम मात्र ठहर्दथ्यो । मेरो मनले एक पटक अझ प्रयास गर्ने ठहर ग¥यो ।
‘हजुर अघि लाग्नुस् । म पछि लाग्छु । हामी दुई अधबैँसे जुटे पछि साहित्य जन्माउन, बटुल्न, संरक्षण गर्न र जिल्लाको इज्जत बढोत्तरी गर्न सकस पर्दैन ।’ मैले हिम्मतिलो बोली अघि सारेको थिएँ ।
उहाँले मुन्टो उठाएर एक टकसँग मलाई हेर्नुभयो । र, हल्का मुस्कुराउनुभयो । पुनम म्याडमले ग्रिन टी र बिस्कुट ल्याउनुभयो । बिस्कुट टोक्दै र चिया सुरुपसुरुप पार्दै समय व्यतित हुँदो थियो ।
‘हजुर जिल्लाबासी मात्रै हैन । कलम र वाणीले जिल्लालाई रिझाएको व्यक्ति हुनुहुन्छ । त्यसैका आधारमा धेरथोर राष्ट्रको सेवा गरिरहनुभएको छ । त्याग, लगनशिलता र प्रतिबद्धताको कसिलो गाँठो हुनुहुन्छ । मैले जिद्दी गर्नुको अर्थ बुझ्नुस्, तपाईं सगरमाथा साहित्य परिषद्को केन्द्रीय अध्यक्ष हुनुहुन्छ । तपाईंले साहित्यमा गरेको लगानीको मूल्याङ्कन गर्दा मेरो जिद्दी मनासिव छ ।’ एक्कासी मैले भनेको थिएँ ।
‘तपैँ साथमा रहनुहुन्छ भने काम सफल हुन्छ । म तयार छु । रोडम्याप बनाउनुस् । तपाईंलाई पछि बोकेर म अघि लाग्न तयार छु ।’ उहाँको बोलीमा जोस र जाँगर भरिएको थियो ।
त्यसै घडीदेखि हामीले रचना संकलनको काम सुरु ग¥यौँ । मैथिली रचनाको नेपालीमा अनुवाद वा भावानुवाद ग¥यौँ । दुई अढाई महिनाको लामो कसरत पछि वरिष्ठदेखि कनिष्ठसम्मका स्रष्टाका रचना संकलन गर्न सफल भयौँ । फलतः अतिथि सम्पादक बनेर ‘जनमत’को २०७६ सालको असोज अंक निकाल्न सफल भयौँ ।
२०७४ साल कात्तिक १० गते शुक्रबार अपरान्हदेखि पक्षाघातले म दाहिने हात कुप्रयाउने र दाहिने खुट्टा घिसार्ने मान्छे बनेको थिएँ । जाडो बढेको कारण मलाई ठण्डी लाग्छ भनेर चिसोमा बाहिरफेरो निस्कन डाक्टरहरूले रोक लगाएका थिए । त्यसको पर्वाह नगरी म राजेश विद्रोहीसँग बाइकको पछि लागेर गोलबजारबाट कटारी–नेपालटार–मुर्कुची–गाईघाट–लहान हुँदै फर्केको कुरा उहाँले थाहा पाउनुभएछ । मेरो दयनीय स्वास्थ्य स्थितिलाई मध्यनजर राख्तै करुणाबस् उहाँले त्यस्तो म्यासेज लेख्नुभएको रहेछ । यो कुरा मैले साहित्यकर्मी राममणि पोखरेलसँगको फोनवार्ताबाट अझ स्पष्टताका साथ बुझ्न पाएँ ।
जामुनलाल स्मृति प्रतिष्ठान, कटारी–४, उदयपुरले जामुनलाल चौधरीका बारेमा स्मृति ग्रन्थ निकाल्ने निधो गरेकाले त्यसैको प्रचार प्रसारमा हामी उदयपुर जिल्ला दौडाहामा निस्केका थियौँ । त्यसै सिलसिलामा मेरो सद्य प्रकाशित उपन्यास कृति ‘गरुराहा’ को प्रचार गर्ने अवसर पनि पाएको थिएँ ।
त्यसैबखत मुर्कुचीमा साहित्यकर्मी रञ्जन निवासमा विहानको खाना खाने मौका जुरेको थियो । उनको ‘पूर्णिमा’ (सन् १९७०) ‘रौतारानी भगवतीको चिनारी’ (०५३), ‘अधुरो’ (०५६), ‘कविको कविता मनभित्र’ (०६९) कविता कृति पहिले नै पाएको थिएँ । भेटघाटमा नै ‘अक्षर’, ‘जडिबुटी विज्ञान’, ‘शरीर विज्ञान’ र ‘आरोग्य विज्ञान’ (०७४) गरेर आठ कृति मेरो पुस्तकालयमा थप्ने अवसर मिल्यो । अनेकन जडीबुटी सहितको औषाधालयमा उनी आफ्ना वास्तुकला, चित्रकला र मूर्तिकलाका अनेकन कृतिहरू नियालिरहेका थिए । यस्ता वैद्य, साहित्य स्रष्टा, दूर द्रष्टा, कलाकर्मी र समाजसेवीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनुपर्छ भन्ने लाग्यो । र, उहाँसँग मनको कुरा बिसाएको थिएँ ।
हुन त मेरा ससुराली खान्दानले मेरो रेखदख र खोजखबर गरिरहनुहुन्छ । घरमा मेरी आमा स्वयम् उच्चरक्तचापको रोगी हुनुहुन्छ । बुबा दमको रोगी हुनुहुन्छ । दाजुभाइलाई घर व्यवहारले उकुसमुकुस पारेको छ । सबैले आफ्नै धुनमा रहन वाध्य हुनुपरेको छ । त्यस्तो बेलामा घरका परिवारजनले समेत मेरो खोजखबर गर्न सक्नुभएको छैन । न म नै खोजखबर गरी तनाव मनमा लिने अवस्थामा छु । एक प्रकारले परिवारसँग सम्बन्ध विच्छेदको अवस्थामा छु ।
यत्तिखेर मलाई सचेत गराउन अभिभावकीय भूमिका उहाँले नै निवाह गर्नुभयो । रञ्जनजीको डकुमेन्ट्रीभन्दा मेरो स्वास्थ्य ठूलो ठानी उहाँले सचेत रहन खबरदारी गर्नु भएको रहेछ । यसले मेरो मन उहाँप्रति आभारी भइरहेको छ ।
०००००

Author:



क्याटोगरी छान्‍नुहोस