कोरोना संक्रमितले स्वास्थ्यकर्मीलाई लखेटेपछि…

राजविराज, २२ साउन । सप्तरीको राजविराजस्थित आइसोलेसनमा बसेका कोरोना भाइरस (कोभिड–१९) संक्रमित केही विरामीहरुको व्यवहारले आइसोलेसनमा खटिएका महिला स्वास्थ्यकर्मीहरुमा त्रास सृजना भएको छ ।

विहिवार दिउँसो संक्रमित केही व्यक्तिले महिला स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार नै गरेपछि उनीहरु त्रसित बनेका हुन् । स्वास्थ्यकर्मीहरुले आइसोलेसन छाडेर भागेपछि घटना बाहिरिएको हो । विहिवारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका केही विरामीहरुले टेवुल, कुर्सी र टेण्टहरु तोडफोड गरी गालीगलौज गर्दै लखेटेपछि स्वास्थ्यकर्मीहरु भागाभाग भएको हो ।

स्वास्थ्यकर्मीहरुले विरामीबाटै असुरक्षा बढेको भन्दै सुरक्षाको प्रत्याभुतिकालागि चौतर्फी गुहार्न थालेका छन् । ‘केही दिनदेखि सुनियोजित ढंगले तनाव सृजना गर्दै आएका केही विरामीहरुले गालीगलौचसहित धम्की नै दिन थालेपछि चिकित्सक स्वास्थ्यकर्मीहरुलाई सेवा प्रवाह गर्न समस्या भयो’ उनले भने–‘व्यवस्थापकीय पक्षमा केही कमी कमजोरी छन् पनि, त्यसलाई क्रमश सुधार गर्दैछौं । तर आजको घटनाले चित्त नै दुखायो’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रञ्जितकुमार झाले भने–‘केही विरामीले सिस्टर (नर्स) हरुलाई अपशब्द प्रयोग गर्दै आक्रमक रुपमै प्रस्तुत हुन थालेपछि नर्सहरु भागेर आफु कहाँ आउनुभयो, अब यस्तो अवस्थामा कसरी उपचार सेवा प्रदान गर्न सकिन्छ?, सम्बन्धित निकाय गुहार्नु बाहेकको विकल्प नै रहेन् ।’

घटनापछि समस्या समाधानकालागि विहिवारै सुरक्षा अधिकारीसहित सरोकारवालासँग छलफल गरिएको छ भने दोषीलाई कारवाही र भयमुक्त वातावरण सृजना गराइदिनुहन् माग गर्दै अस्पताल प्रशासनले जिल्ला प्रहरी कार्यालयमा पत्राचार समेत गरेको छ ।

छलफलमा राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादव, जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी आनन्दकुमार ठाकुर, नेपाली सेनाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव लगायत सरोकारवालाहरुको उपस्थिती थियो ।

‘स्वास्थ्यकर्मीको मनोवल गिर्ने गरी कार्य गर्नेलाई कार्वाही हुन्छ’

जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी आनन्दकुमार ठाकुरले महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोवल गिराउने वा असुरक्षा बढाउने गरी कार्य गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताए । ‘स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको विषयमा हामीले अस्पतालमै पुगेर जानकारी लियौं’ उनले भने–‘स्वास्थ्यकर्मीको मनोवल गिराउने वा असुरक्षा बढाउने कार्य गर्ने जो कोहीलाई पनि कारवाही गरिन्छ ।’

यस बाहेक पनि आइसोलेसनमा सुरक्षाको जिम्मेवारी वहन गरिरहेका नेपाली सेनालाई यस विषयमा वुझ्न भनिसकिएको सुचना अधिकारी ठाकुरले जानकारी दिए । ‘नेपाली सेनाले पनि यस विषयमा गम्भिर भएर कार्य गरिरहेको छ’ उनले थपे–‘स्वास्थ्यकर्मीहरुलाई अब डराउनु पर्दैन् ।’

उनले महामारी नियन्त्रण कार्यमा खटिएका स्वास्थ्यकर्मीहरुलाई नडराइकन निर्धककासाथ काम गर्न आग्रह पनि गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस