सप्तरीको लौनियाँमा थप संक्रमण रोक्नकालागि थालियो उच्च सतर्कता

राजविराज, २६ साउन । सप्तरीकोे तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँमा ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि थप संक्रमण हुन नदिन कडाई गरिएको छ ।

कोरानो भाइरस नियन्त्रण तथा कोभिड १९ को संक्रमणबाट जोगिन र जोगाउनकालागि सतर्कता अपनाउन कडाई गरिएको हो । वडा अध्यक्ष खगेन्द्र मण्डलको संयोजकत्वमा शनिवारदेखि एक टोलीले वडामा माइकिङ्ग गरेसँगै घुमेर कडाइ गर्न थालिएको छ ।

अनिवार्य मास्क नगाएमा भौतिक वा आर्थिक कारवाही हुने, साबुन पानीले हाथ धुने, बिना कामले घर बाहिर ननिस्किने, सामाजिक दुरी बनाई मात्रै कार्य गर्ने, किराना पसल दिनको २ बजेदेखी ४ बजेसम्म मात्र खोल्ने, औषधी पसल चौबिसै घण्टासम्म खोल्ने लगायतका निर्णयहरु गरिएको वडा अध्यक्ष मण्डलले जानकारी दिएका छन् । शुरुमा ७ दिनसम्म लकडाउन गरिने र थपिंदै २१ दिन लकडाउन राखिने जनाइएको छ । यसअतिरिक्त गाउँमा चिया, नास्ता र मदिरालगायतका पसलहरु पूर्ण रुपमा बन्द गरी सामान विक्री नगर्न आग्रह गरिएको छ ।

वडामा कोरोना भाइरसको संक्रमण बढेपछि यस्तो निर्णय गरिएको र यसलाई कडाइकासाथ पालना गर्न गराउनमा आफुहरु जुटेको वडा अध्यक्ष मण्डलले बताए । कोरोना भाइरस सघन रुपमा फैलिसकेकोले यसको जालो तोड्नुपर्ने आवश्यकता रहेकोले सजगता र सतर्कता अपनाईए मात्रै कोरोना नियन्त्रण हुने उनको भनाइ छ ।
वडा स्तरमा गठन गरिएको उक्त टोलीमा जनप्रतिनिधि, स्थानिय शिक्षक, बुद्धिजिवी, राजनितिकर्मी, शसस्त्र प्रहरी. नेपाल प्रहरी समेतको सहभागिता रहेके छ ।
तस्विर: कमल कुमार मण्डल

Author:



क्याटोगरी छान्‍नुहोस