विराटनगरका दुई निजी अस्पतालद्वारा कोरोनाको निःशुल्क उपचार सुरु

२०७७ भदौ २५
विराटनगर । विराटनगरका विराट मेडिकल कलेज र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न थालेका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता भएपछि दुवै अस्पतालले मंगलबारदेखि संक्रमितको निःशुल्क उपचार गर्न सुरु गरेका हुन् ।

मोरङको बुढीगंगा–२ टंकिसिनवारीमा रहेको विराट मेडिकल कलेज र विराटनगकै न्युरो–कार्डियो एण्ड मल्टिस्पेसियालिटीको शाखा अस्पताल मदर एण्ड चाइल्ड अस्पतालले यसअघि नै संक्रमितको सशुल्क उपचार गर्दै आएका थिए । निजीस्तरमा यी दुई अस्पतालले प्रदेशमा नै पहिलो पटक कोभिड विषेश अस्पताल सञ्चालन गरेर संक्रमितको उपचार गदै आएका थिए ।

विराट मेडिकल कलेजले ३१ साउनबाट ६० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । तीमध्ये ३८ साधारण र २२ क्याबिन बेड छन् । यस्तै ६ वटा भेन्टिलेटर छन् । विराटमा अहिलेसम्म २९ जना संक्रमित भर्ना भएकोमा १६ जना संक्रमणमुक्त भइसकेका अस्पताल प्रशासनले जनाएको छ ।

उता, न्युरोले पनि संक्रमितको उपचारका लागि छुट्टै कोरोना अस्पताल सञ्चालनमा ल्याएको थियो । न्युरोले विराटनगर–९ महेन्द्र चोकमा रहेको न्युरोको शाखा मदर एण्ड चाइलल्ड अस्पताललाई ११ भदौबाट कोभिड अस्पतालमा परिणत गरेर संक्रमितको उपचार गर्दै आएको थियो। अस्पतालका डाइरेक्टर इन्जिनियर रञ्जितराज बस्नेतले बुधबारबाट संक्रमितको उपचार निःशुल्क गरिएको जनाए ।

न्युरोले ५१ बेडको कोरोना अस्पताल सञ्चालन गरेकोमा ४२ वटा बेड जनरल, ७ वटा आइसियू र दुई वटा भेण्टिलेटर सञ्चालनमा ल्याएको छ । योसँगै निजीस्तरका दुई गरी अब प्रदेश संक्रमितको उपचार गर्ने कोभिड विषेश अस्पतालको संख्या पाँच पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस