प्याजको कालोबजारी

प्याजमा हरेक वर्ष एकाएक अचाक्ली तरिकाबाट मूल्य बृद्धि हुने गरेको छ । मूलतः भारतबाट बढी मात्रामा आयात हुने प्याजको मूल्य उताको मूल्यमा हुने हेरफेर वा निर्यातमा गरिने कडाईका कारणले यता सोझै प्रभाव पर्ने गरेको हो । पाठ्य पुस्तकका आधारमा नेपाल कृषिप्रधान देश भनेर पढ्ने गरिएको मात्र नभई वास्तविकताको हिसाबले पनि यहाँको प्रमुख पेशा कृषि नै रहेको हो ।

यही कारणले कृषिमा सुधार ल्याएर उत्पादकत्व बढाउने कुरा यहाँ पटक–पटक उठ्ने गरेको भए पनि त्यो मात्र चुनावी मुद्दा र सस्तो लोकप्रियताकालागि गरिने भाषणमा सिमित बन्न पुगेको छ । किसानलाई राहतकालागि अनुदान तथा विभिन्न सुविधा दिने भन्दै कुनै–कुनै बेला कार्यक्रम पनि ल्याउने गरिन्छ । तर, सबै वास्तविक किसानले उक्त सुविधा पाउन नसकेको अवस्था अहिले पनि छँदैछ । केही टाठाबाठा, दलका समर्थक, कार्यकर्ता अनि प्रभाव र पहुँच भएकाले बढी सुविधा हात पार्ने परिपाटीको जहिलेसम्म अन्त्य हुँदैन तबसम्म निष्पक्ष रुपमा सरकारले कहिलेकाहिँ ल्याएको यस्तो सुविधाप्रति आम किसानको पहुँच स्थापित हुन सक्दैन ।

नीति बनाएर मात्र पुग्ने होईन । सबैभन्दा जरुरी कुरा त कार्यान्वयन पक्ष कस्तो छ भन्ने हेर्न आवश्यक छ । यसबाट मात्र नीतिको सफलता असफलताका बारेमा निक्र्यौल गर्न सकिन्छ । कृषिमा परनिर्भरता बढेका कारणले नै अहिले प्याजको रन्को पनि बढेको हो । भारतमा प्याज निर्यातमा कडाई गरियो भन्ने समाचार आउने बित्तिकै नेपालमा व्यापारीहरुले प्याज लुकाउन थाले । अघिल्लो दिनको भन्दा तीन गुणासम्म मूल्य बढाएर बेच्दा उपभोक्ताको चरम शोषण हुनु छँदै थियो । त्यसमाथि सरकारले यसरी गरिँदै आएको कालोबजारी नियन्त्रणकालागि प्रभावकारी रुपले कदम चाल्न नसक्दा उपभोक्ता अहिले पनि पीडित बनेकै छन् ।

भारतले प्याजको निर्यातमा कडाईको घोषणा गर्नेबित्तिकै नेपालमा त्यसको मूल्य बृद्धि गर्नु भनेको पहिले सस्तोमा आयात गरिएको स्टककै मोल बढाएर मुनाफा कमाउने नियत रहेको भनि बुझ्न गाह्रो नपर्ला । तीन गुणा भाउ बढाएर प्याज बेच्नुको मतलब उपभोक्ताको ढाड सेक्ने नियत नै हो भनेर बुझ्न गाह्रो छैन । यसरी मुनाफाखोरी गर्नेमाथि प्रशासनले न त कारवाही चलाउन सकेको छ न उपभोक्ताको हितमा काम गर्ने भनि बताउँदै आएका संस्थाहरुले नै कुनै पहल थालेका छन् ।

यसरी उपभोक्तामाथि अत्याचार गरिरहने हो भने आम उपभोक्ताले पनि अब संगठित भएर यसरी बढाईएको मूल्यलाई बहिष्कार गर्नुपर्ने जरुरी छ । मुनाफाखोरीको यस्तो अत्याचारका बिरुद्ध भाउ सामान्य नभएसम्मकालागि प्याजको उपभोग नै बन्द गरेर मूल्य बृद्धिको अवज्ञा गर्न सकियो भने प्याजका मुनाफाखोरहरुको निश्चय पराजय हुनेछ । बाहिरबाट आयात गरिने प्याजमा मनपर्दी भाउ बढाउने यस्तो खेललाई नियन्त्रणकालागि स्वदेशमै यसको उत्पादनमा जोड दिएर पनि प्याजका कालाबजारियाहरुको मनोबललाई परास्त गर्न सकिने छ । तर, प्रश्न उठ्छ के सरकारले वास्तविक किसानको मनोबल बढाएर यस्ता उपभोग्य सामग्री उत्पादनमा प्रोत्साहन देला ?

Author:



क्याटोगरी छान्‍नुहोस