विमानस्थलको अधिकतम उपयोग गरौं

शासक वर्गको उपेक्षाको शिकार बन्दै आएको सप्तरीले विगतमा सम्भावना भएर पनि विकासमा पछि पर्नु पर्यो । पञ्चायत कालमा पूर्व पश्चिम राजमार्ग निर्माणका क्रममा पनि सदरमुकामसित नजोडिकन १० कि.मि. उत्तरबाट लगिँदा जिल्लाका बहुसंख्यक जनताले त्यसको लाभबाट बञ्चितै रहनु पर्यो ।

देशकै सबैभन्दा पुरानो चन्द्रनहर राणाकालमा सप्तरीमै निर्माण भए पनि आवश्यक मर्मत सम्भार र क्षमता विस्तारमा पञ्चायती व्यवस्थादेखि नै चासो नदिइँदा अहिले जिल्लाका अधिकांश किसानले खेतिकालागि आकाशकै भर पर्नु परिरहेको छ ।

अन्य थप दुई नहरबाट पनि जिल्लामा सिँचाईको व्यवस्था गरिएको भए पनि तिनबाट समेत सप्तरीका किसानको पानीको आवश्यकता पूरा हुन सकिरहेको छैन । विगतमा कृषि उत्पादनकालागि अग्रणी मानिने सप्तरीमा अहिले बाहिरबाट खाद्यान्नदेखि हरियो सागसब्जी समेत आयात गर्नु पर्ने अवस्था छ ।

पशुपालन,माछापालन,तरकारी तथा फलफूल खेतीको प्रचुर सम्भावना रहेको कुरा कृषि क्षेत्रका विज्ञहरुलाई पनि जानकारी नरहेको विषय होईन । तर,यस्ता सम्भाव्यताका विषयमा कुरा उठ्दा भाषणमा त निकै कलात्मक ढंगले प्रस्तुत गरिन्छ । तर,व्यवहारमा भने तिनको उपयोगिताको कुरा कार्यरुपमा आउन नसक्दा यी सम्भाव्यता केवल भाषणमै सिमित रहेको अवस्था छ ।

यहाँका सरकारी कार्यालयहरु मध्ये पनि कतिपय अन्यत्र सार्ने काम भयो । तर,यहाँका राजनीतिक दल तथा नेताहरुले त्यसलाई रोक्न चासो नदिँदा अञ्चलकै सदरमुकाम समेत रहेको यो ऐतिहासिक जिल्ला पछौटेपनको शिकार बन्न पुगेकोमा सप्तरीवासी जनता जानकार नै छन् ।

विगतमा उपेक्षाको मारमा परेको भए पनि एउटा सकारात्मक थालनी चाहिँ यहाँको विमानस्थलबाट भएको छ । पञ्चायतकालमै काठमाण्डौं राजविराज र लामिडाँडासम्म सेवा दिँदै आएको यस विमानस्थलको धावनमार्ग कच्ची रहनाले वर्षा लाग्नासाथ बन्द हुने गरेको थियो ।

पञ्चायती व्यवस्थाको अन्त्यपछि आएको बहुदलीय शासनकालमा पनि यसको स्तरोन्नतिका बारेमा बारम्बार कुरा उठेपनि काम नभएका कारण अधिकांश समय यो विमानस्थल गौचरका रुपमा परिणत भएको थियो ।

२०१६ सालमा तत्कालीन उद्योग तथा यातायात मन्त्री गणेशमान सिंहले उद्घाटन गरिएको भएपनि देशकै उत्कृष्ट विमानस्थल बन्ने क्षमता रहेको यो महत्वपूर्ण पूर्वाधार लामो समयदेख्रि लथालिंग अवस्थामा रहेपनि विगत दुई वर्षदेखि यसको मुहार फेरिएको छ ।

पक्की धावनमार्ग तथा नयाँ टर्मिनल भवन तयार भएपछि यहाँबाट पछिल्लो चरणमा बुध्द एयरले दैनिक सेवा सञ्चालनमा ल्याएको छ ।

राजविराजमा दैनिक सेवा सञ्चालनको श्रेय देशकै ठूलो विमान सेवा प्रदायक संस्थाले पाउनाले अब विगतको जस्तो कहिले चल्ने अनि कहिले बन्द हुने समस्याबाट यो विमानस्थलले मुक्ति पाउने कुरामा यहाँका जनताको विश्वास बढेको छ ।

कोरोनाका कारण गत चैत ११ गतेदेखि विमान सेवा बन्द रहेको राजविराज विमान स्थलमा करीब छ महिना पछि शुक्रबारदेखि सेवा सञ्चालनमा आएको छ ।

जिल्लाको प्रतिष्ठा तथा विकाससित समेत जोडिएको यस विमानस्थलमा नियमित सेवा सञ्चालन होस् भन्ने बातावरणकालागि यहाँका राजनीतिक दल, जनप्रतिनिधि लगायत जनस्तरबाट समेत पहलकदमी आवश्यक रहने कुरा दोहोर्याईरहनु नपर्ला ।

प्रदेश २ मा रहेका जनकपुर, सिमरा तथा राजविराज गरी तीनवटा विमानस्थलको निर्बाध सञ्चालनमा प्रदेश सरकारको पनि सकारात्मक सहयोग अपेक्षित छ । यी विमानस्थलहरुको अधिकतम उपयोग भएमा यहाँका पर्यटकीय स्थलहरुको समेत विकासमा मद्दत मिल्नेमा आशंका रहने छैन ।

Author:



क्याटोगरी छान्‍नुहोस