प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस सांसदहरुलाई ह्वीप

बुटवल, २० असोज । प्रदेश नम्बर पाँचको प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रदेश सरकारले ल्याएको स्थायी राजधानीको प्रस्तावमा विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सांसदहरुलाई ह्वीप लगाएको छ ।

काँग्रेसका प्रदेश संसदिय दलका नेता बिरेन्द्रकुमार कनौडियाले निर्देशनसहितको ह्विप जारी गरेका हुन् । उनले आफ्ना पार्टीका प्रदेश सभा सदस्यहरुलाई सरकारको प्रस्ताव बिरुद्ध उभिन आग्रह गर्दै बिपक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङमा बनाउन सरकारले गरेको प्रस्तावको विपक्षमा जाने निष्कर्शमा पुगेको छ । मङ्लवार (आज)को प्रदेश सभा बैठकमा राजधानी र नामबारे मतदान प्रक्रियाबाट निर्णय हुने कार्यसूची छ । प्रदेशसभामा सरकारले स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको छ ।

प्रदेशको नाम र राजधानीको निर्णय गर्न दुई तिहाइ मत आवश्यक रहेको छ । दाङ राजधानी तोक्ने प्रस्तावको नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखे पनि दाङकै पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

सोमवारको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा कांग्रेसका सांसदहरुले विरोध जनाउँदै कुर्सी तोडफोड गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस