नवजात शिशुको मृत्युको कारण अस्पतालको चरम लापर्वाही

राजविराज, ६ कार्तिक । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकको लापर्वाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै पीडित परिवारले दोषीलाई कार्वाहीको माग गरेका छन् ।

राजविराज नगरपालिका वडा नम्वर ५ निवासी मृतक शिशुका पिता पंकज सरकारले शिशुको मृत्युबारे छानबिन गरी दोषीलाई आवश्यक कार्वाहीको माग गर्दै अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमार झालाई ध्यानाकर्षण–पत्र बुझाएका हुन् । ध्यानाकर्षण–पत्रमा उल्लेख भए अनुसार आफ्नी २९ वर्षिय पत्नी मौसमी सरकार गर्भवती भई मिति २०७७ असोज ३० गते शुक्रबारका दिन डा.उषा देवको परामर्श अनुसार शल्यकृयाद्वारा प्रसुतिकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गराईएको थियो । सोही दिन १ बजेर ३६ मिनेटमा ३२०० ग्राम तौल भएको जिवित पुरुष एकल शल्यकृयाबाट जन्मिएको उल्लेख छ ।

डा.उषा देव र डा.दिलिप साह एवम् सहयोगी स्टाफ नर्सहरुको प्रयासले बच्चा राम्ररी नै जन्मिएको तर अपरेशनको समयमा अपरेशन कक्षमा बच्चा विभागको डाक्टर हुनुपर्नेमा डाक्टर उपस्थित नभएको ध्यानाकर्षणपत्रमा जनाईएको छ । अपरेशन पश्चात एक छिनमै आमाको ठाउँमा बच्चालाई ल्याईएको त्यसपश्चात पनि एक पटक बच्चा बिभागको डाक्टर बच्चालाई हेर्न चेकजाच गर्न आएनन्,बच्चा बिभागको बारेमा नर्सहरुलाई सोध्न जाँदा वा बोलाई दिनु भन्दा डाक्टर आउनुहुन्छ भनी आश्वासन मात्र दिएको गुनासो गरिएको छ ।
आमालाई दूध नआएको विषयमा जानकारी गराउँदा बच्चालाई ल्याक्टोजिन खुवाउने सल्लाह दिएपछि त्यही खुवाएको ध्यानाकर्षण पत्रममा उल्लेख छ । बच्चा छिनछिनमै रुने तर्सिने गरेको पटक पटक जानकारी गराउँदा भोकले बच्चा रुँदै छ भन्दै ल्याक्टोजिन खुवाउन नर्सहरुले सल्लाह दिने गरेको जनाईएको छ । बच्चा जन्मिएदेखि नै एक पटक पनि बच्चा विशेषज्ञ डाक्टर न आएको उल्लेख गर्दै अगाडि भनिएको छ – मिति २०७७÷०७÷०१ गते शनिबारका दिन राति १०ः३० बजे बच्चा रुन थाल्यो, बच्चाको जिउँ तातो हुदै थियो, डियूटीमा रहेको नर्सलाई भन्न जाँदा झर्केर जवाफ दिनु, भिजिटर अर्थात म निवेदकलाई उल्टै थर्मामिटर दिएर पठाईयो तर आफु हेर्न आएनन् ।

कार्तिक २ गते आईतबार बिहान ३ बजे बच्चामा अस्वाभाविक देखिएपछि बच्चा रुन थालेको थियो । त्यसपछि निवेदक पंकजले बच्चालाई लिएर नर्सहरु बस्ने कक्षमा लिएर जाँदा नर्सहरु कोही पनि थिएनन् । छेउमै रहेको एन.आई.सि.यु.कक्षमा पस्दा त्यहाँ नर्सहरु सुतेको अवस्थामा देखेँ । आफुले त्यहाँ कति गुहार गरे मेरो बच्चा हेर्नु ,रोएँ बिन्ती गरे, एन.आई.सि.यु.कक्षमा डाक्टर पनि उपलब्ध नरहेकोले डाक्टरलार्ई बोलाई दिन धेरै पटक भनेपछि डियूटि आवरको नर्स तल गई त्यहाँबाट एक छिनपछि माथि आएर डाक्टर सरोज यादवलाई फोन गरेको तर उनी आउन मानेन । अर्को डाक्टरलाई डाक्टर ललन रौनियारलाई फोन गर्दा बच्चा सिरियस भएमा बाहिर लान तयार हुनुहुन्छ ? भनी शर्त राखेपछि आफुले बाहिर लाने कुरा गर्दा डा. रौनियार आएर रेफर गरिदिएको पीडा उक्त पत्रमा उल्लेख छ ।

बच्चालाई वि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएपछि डाक्टरहरुले चेकजाँच गर्दा बच्चा ३० मिनेट अगाडी नै बाटोमै मृत्यु भएको भनी जवाफ दिएको मृतक शिशुका पिता पंकजले बताए । चिकित्सकको जवाफ सुन्दा आफुहरुमाथि बज्रपात नै भएको उल्लेख गर्दै अन्त्यमा बच्चाको मृत्यु प्रमाणपत्र लिएर त्यहाँबाट फर्किएको जनाईएको छ । गजेन्द्र ना.सिंह अस्पतालमा कुन स्थानमा मेरो बच्चासँग उपचारमा गल्ती वा लापर्वाही भएको हो ? आफु र बच्चालाई न्याय गरिदिन आग्रह गर्दै अगाडि भनिएको छ– यस्तो लापर्वाही अरु कसैको बच्चासँग न दोहोरियोस् सबैको क्षमता बाहिर लाने पनि हुदैनन् आई.सि.यु. हुँदाहुदै उपचार हुन सकेनन्, रेफर गर्ने मानसिकता देखियो । त्यसैले छानविन गरी दोसीलाई कारवाहि होस, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,२०७५ उलंघन भएको समेत देखिन्छ । पोस्टअप, इमर्जेन्सी अव्स्टेट्रिक केयरमा सरसफाईको कमीको साथै शौचालय अपरेशन भएका महिलाहरुकोलागि उपयुक्त नभएको, धारा पनि रहेको, हात धुने बेसिन बन्द र फोहर रहेको, लामखुटेको अतिक्रमण जस्ता समस्याहरु दिनहुँ विरामी तथा सेवाग्राहीहरुले भोग्नुपर्ने बाध्यता रहेकोले सो समस्या समाधान गर्न समेत मृतक शिशुका पिता पंकजले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

पीडित परिवारको तर्फबाट न्यायको माग गर्दै बुधबार अस्पतालका निमित मेसु रणजित कुमार झालाई ज्ञापनपत्र बुझाईएको हो । उक्त ध्यानाकर्षणपत्र बुझ्दै डा. झाले नवजात शिशुको मृत्यु भएको खबरले आफुलाई मर्माहत तुल्याएको भन्दै उपचारमा लापर्वाही गर्ने चिकित्सक एवम् स्वास्थ्यर्मीलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस