सप्तरीमा यस्तो छ कोरोना संक्रमणको अवस्था

राजविराज, ६ असोज । सप्तरीमा आज (विहिवार) थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्याल सप्तरीका दुई कर्मचारी र ईलाका प्रशासन कार्यालय कञ्चनपुरका प्रमुखसहित अन्य एक कर्मचारीमा पनि संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटका नायव सुब्वा र प्रशासन फाँटमा कार्यरत कम्प्युटर अपरेटरमा संक्रमण देखिएको छ । यसैगरी इलाका प्रशासन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुखसहित २ जना र वैदेशीक रोजगार फाँटमा कार्यरत एक जनालाई संक्रमण पुष्टि भएको हो ।

राजविराज नगरपालिका २, ५ र ८ का १–१ जना, हनुमाननगर कंकालिनी नगरपालिका १ का जना तथा शम्भुनाथ नगरपालिका ८ का १ जनामा संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले बताए ।

यससँगै सप्तरीमा संक्रमितको संख्या १५ सय ३२ पुगेको छ । यसैगरी, आज मात्रै १८ जना संक्रमणमुक्त भएका छन् । यससँगै सप्तरीमा कोरोनामुक्त हुनेको संख्या १२ सय ९३ पुगेको छ ।

सप्तरीमा सक्रिय संक्रमितको संख्या २१६ रहेको छ । आजसम्म सप्तरीमा कोरोनाबाट २३ जनाको मृत्यु भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस