बडादशैंको टिका आज, १०ः१९ बजे उत्तम साइत

जनकपुरधाम । बडादशैंको मुख्य दिन अर्थात आज टिका । मान्यजनको हातबाट टिका र जमरा ग्रहण गर्ने दिन । यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः ११ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ ।

विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ । सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा नरहेको समितिको निर्णय छ । देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिइने परम्परा छ ।

टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भवानीको यात्रा गराउने साइत जुरेको छ । तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजेको छ । खड्गयात्रासमेत यसैदिन गरिन्छ । कात्तिक १४ गते शुक्रबार विधिपूर्वक गरिने सबै बलि पूर्तिको कर्म गर्नुपर्छ ।

कोजाग्रत पूर्णिमा पनि कात्तिक १४ गते शुक्रबारकै दिन परेको छ । त्यस दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजा आराधना गरिन्छ । महालक्ष्मीको विशेष आराधना गर्ने भक्तजनले कोजाग्रत पूर्णिमाको व्रत बस्ने गर्छन् ।

चान्द्रमासअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण कात्तिक १ गतेदेखि शुरु हुँदैछ । मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस