हर्षोउल्लासका साथ मनाईयो छठ पर्व

राजविराज, ६ मंसिर । हिन्दु धर्मावलम्बीहरुले अत्यन्त निष्ठा र कठोर ब्रत लिएर मनाइने छठ पर्व आज समापन भएको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन भएको हो ।

शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनको ब्रत समापन गरेका छन् ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाडका रुपमा रहेको छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमी तिथीसम्म मनाईन्छ ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ‘नहाए खाए’ दिन भन्ने गरिन्छ । पहिलो दिन छठका व्रतालुले नदी, खोला, पोखरी र तलाउलगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई बिहान र बेलुकी लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खान्छन् ।

दोश्रो दिन पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन साँझपख नुहाएर चोखो हुँदै आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेली र सख्खरको खीर प्रसादका रुपमा पकाउँछन् ।

सो प्रसाद चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुले उक्त प्रसाद ग्रहण गरेर निर्जला ब्रत बस्छन् । छठको तेश्रो दिन षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ ।

तेश्रोदिन ब्रतालुले नदी, खोला, पोखरी र तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्यलाई र चौथोदिन सप्तमी तिथीमा बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन भएको मानिन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस