मन्त्री साहद्वारा छठ पर्वको शुभकामना, सुख, समृद्धि र आरोग्यको कामना 

राजविराज, ५ मंसिर । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले छठ पर्वको अवसरमा व्रतालु, श्रद्धालु एवं सम्पूर्ण प्रदेशवासीमा सुख, समृद्धि र आरोग्यको कामनासहित शुभकामना व्यक्त गरेका छन् । शुक्रवार उनले शुभकामना सन्देश जारी गर्दै कोरोना महामारीबाट बच्नकालागि स्वास्थ्य सतर्कता अपनाएर छठ पर्व मनाउन अपिल समेत गरेका हुन् ।

सन्देशमा भनिएको छ, ‘सूर्य उपासनाको महान् लोकपर्व छठको अवसरमा व्रतालु, श्रद्धालुलगायत सबै आस्थानत व्यक्तिहरूको सुख, समृद्धि र आरोग्यको कामना गर्दछु । जीवन र जगतको स्रोत सूर्यदेवप्रति कृतज्ञता प्रकटीकरणका लागि गरिने पूजाअर्चनाले प्रकृतिप्रति मानवीय अपेक्षा, चासो र लगावलाई अभिव्यक्त गर्दै आएको छ ।’

‘जीवनदायिनी शक्ति सूर्यले हामीलाई जीवन र बोटबिरुवालाई भोजन उपलब्ध गराउँदछ । जसबाट यस पृथ्वीमा जीवन अस्तित्वले निरन्तरता पाउँदै आएको छ । यस अर्थमा हामी छठ पर्वलाई जीवन–संस्कृतिको अभिन्न र अविछिन्न अंग बनाएका छौं’, सन्देशमा उल्लेख छ ।

‘कठोर निर्जल व्रत छठले शारीरिक तथा मानसिक शुद्धता एवं पवित्रताको सन्देश पनि दिन्छ । समानता र सद्भावको अनौठो यो अवसरले प्रकृतिप्रदत्त शक्तिप्रति आभारभाव मात्र होइन, उच्चतम मूल्यमा आधारित मानवीय मर्यादाले परिपूर्ण समुदायको झाँकी पनि प्रस्तुत गर्दै आएको छ । यस पर्वको सन्देशबाट प्रेरित हुँदै समानता र सामाजिक न्यायमा आधारित समाज निर्माणको पथमा हामी अग्रसर हुने संकल्प लिने यो बेलामा फेरि पनि सबैमा शुभकामना’, मन्त्री साहको सन्देशमा भनिएको छ ।

उनले कोरोनाबाट जोगिन स्वास्थ्य सतर्कता अपनाएर पर्व मनाउन आग्रह समेत गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस