सवै लोकतन्त्रवादीहरुलाई एकजुट भएर ठोस निष्कर्षका आधारमा अघि बढ्न मन्त्री साहको आग्रह

राजविराज । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले संसद् विघटनको सिफारिस स्तब्धकारी र दुर्भाग्यपूर्ण रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘संसद् विघटनको सिफारिस स्तब्धकारी र दुर्भाग्यपूर्ण छ । संघीय सरकारका मुखियाको सर्वसत्तावादी नियत र व्यवहारका कारण देशमा राजनीतिक–वैचारिक स्तर स्खलित भइरहेका बेला असंवैधानिक ढंगले संसद् विघटन प्रयासबाट राज्यसञ्चालनको केन्द्रीकृत र एकात्मक मानसिकता उदांगो भएको छ ।’

यस्तो हर्कतका कारण उत्कृष्ट भनिएको संविधान अपूर्ण, अस्पष्ट र अन्यौलग्रस्त रहेको आफुहरुले गर्दै आएको दावी सही सावित भएको उनले उल्लेख गरेका छन् ।

यस्तो परिस्थितीमा सवै लोकतन्त्रवादीहरुलाई एकजुट भएर ठोस निष्कर्षका आधारमा अघि बढ्न उनले आग्रह समेत गरे । ‘यस्तो हर्कतबाट संसारकै उत्कृष्ट संविधान भनेर दाबी गरिएको अहिलेको संविधान अपूर्ण, अस्पष्ट र अन्योलग्रस्त रहेको हाम्रो दाबी सही साबित भएको छ । पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमले प्रतिगमन पक्षधर र पुनरुत्थानवादीहरूलाई कुचेष्टा गर्न औसर दिन सक्छ भन्ने कुरामा सतर्क रहँदै अहिलेको असहज, असमान्य र असाधारण परिस्थितिमा सबै लोकतन्त्रवादीहरूलाई एकजुट भई ठोस निष्कर्षका आधारमा अघि बढ्न आग्रह गर्दछु ।’

Author:



क्याटोगरी छान्‍नुहोस