संसद विघटन विरुद्ध देशैभरि प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन

राजविराज, १० पुस । प्रतिनिधि सभा विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपालले सप्तरी सदरमुकाम राजविराजसहित देशैभरि शुक्रवार कडा सुरक्षाका बीच विरोध प्रदर्शनसहित राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेको छ ।

राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट निकालिको विरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा गरी शहिद दशन चौकमा पुगेर राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । पुतला दहनको अन्त्यतिर सशस्त्र तथा नेपाल प्रहरीको टोलीले सामान्य अवरोध पुर्याएका छन् ।

पुतलासहित विरोध प्रदर्शनमा उत्रेको उक्त जुलुसको अगाडि र पछाडि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । आन्दोलनकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्का नाराबाजी गरेका छन् । शहिद दशन चौकमा पुतला दहन पश्चात आयोजित विरोध सभामा पार्टीका केन्द्रीय तथा युवा नेताहरुले सम्बोधन गरेका छन् ।

पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित विरोध सभालाई सम्बोधन गर्ने वक्ताहरुले संसद पुनरस्थापनाको माग गरेका छन् । जनता समाजवादी पार्टी नेपालले तय गरेको विरोध कार्यक्रम अनुसार पुस ११ गते मसाल जुलुस प्रदर्शन र पुस १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस