चट्याङ्ग लागेर ज्यान गुमाएका चार परिवारलाई प्रदेश सरकारको सहयोग

राजविराज, १८ पुस । गत असार ११ गते सप्तरीमा चट्याङ्ग लागेर ज्यान गुमाएका चार परिवारलाई प्रदेश सरकारको तर्फबाट जनही एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

शनिवार राजविराज स्थित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको सम्पर्क कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पीडित परिवारलाई मन्त्री साहले चेक हस्तान्तरण गरेका हुन् । महादेवा गाउँपालिकाका वडा नम्वर २ का २७ वर्षीय बेचन यादव र ६० वर्षीय नकछेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका ९ का ३० वर्षीया ललितादेबी यादव र राजगढ गाउँपालिका वडा नम्वर ४ का केसीलाल साहका परिवारजनलाई मन्त्री साहले प्रदेश सरकारको तर्फबाट जनही एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

यसैगरी निर्वाचन नम्बर २ (क) अन्तर्गतका १५ ओटा विद्यालयहरुलाई एक एक थान थर्मलगन समेत उपलब्ध गराएका छन् । निर्वाचन क्षेत्र नम्वर (क) अन्तर्गत पर्ने सम्पूर्ण प्राथमिक, आधारभूत तथा माध्यमिक विद्यालयहरुलाई एक एक थान थर्मलगन उपलब्ध गराउने मन्त्री साहले प्रतिवद्धता व्यक्त गरेका छन् । कोरोना संक्रमणको अवस्था अझै नटरिसकेकोले शिक्षक तथा विद्यार्थीहरुको तापक्रम जाँच गर्न सामुदायिक विद्यालयहरुलाई थर्मलगन सहयोगी सिद्ध हुने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय विदेश्वर यादव (विक्की), नेत्रविक्रम साह, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस