भारोत्तोलनमा भविष्य खोज्दै मधेशकी छोरीहरु

राजविराज, ०४ पुस । मधेशकी छोरीहरुलाई त्यसै पनि पाईलैपिच्छे नानाथरीका चुनौती । त्यसमाथि अभावग्रस्त दैनिकीका बाबजुद पनि भारोत्तोलनमा भविष्य सपार्ने सपना बुन्दै कडा परिश्रम गर्दैछिन् सप्तरीका किशोरीहरु ।

माघ महिनाको एका बिहानैको समय । हुस्सु र कुहिरो अनि कठ्याङ्ग्रिदो जाडो । झिसमिसेको कुहिरोलाई छिचोल्दै गाउँबाट करिब ६ किलोमिटरको यात्रा तय गर्दै साइकलमा सवार ७/८ जना किशोरीहरु दैनिक सदरमुकाम राजविराज आइपुग्छिन् । जिल्ला खेलकुद विकास समिति परिसरमा साईकल थन्क्याउँदै कर्भड हलमा पुग्छिन् । र, विहान ७ बजेदेखि ९ बजेसम्म उनीहरु नित्य भारोत्तोलन अभ्यासमा तल्लीन हुन्छिन् ।

यसरी गाम(गाउँ)समाजको आलोचना र चुनौती पार गर्दै विष्णुपुर गाउँपालिका १ कि १५ वर्षिया सरिता यादव, १४ वर्षिया पूजा कुमारी मण्डल, मुसहर्नियाकी १६ वर्षिया आरती कुमारी रजक, खरसाल टोलकी १४ वर्षिया अञ्जली कुमारी यादव, १० वर्षिया अम्बिका कुमारी यादव, मुसहर्नियाकी १७ वर्षिया काजल कुमारी सदा र १४ वर्षिया किरण कुमारी सदा भारोत्तोलनको अभ्यासमा जुटेकी छिन् ।

कोरोना भाइरस (कोभिड–१९) का कारण आह्वान गरिएको बन्दाबन्दीले रोकिएको अभ्यासलाई उनीहरुले निरन्तरता दिएकी हुन् । चुनौतीका बीच खेल क्षेत्रमा मधेशी मूलकी छोरीहरुको आकर्षण बढ्दै गए पनि सरकारी तवरबाट खासै प्रोत्साहन नभएको उनीहरु बताउँछन् । भारोत्तोलनको नियमित अभ्यासमा जुटेको अवस्थामा आफुहरुलाई थप पौष्टिक आहारको आवश्यकता रहे पनि स्थानीय सरकारसम्मले पनि बेवास्ता गरेको उनीहरुको दुःखेसो छ ।

घरको अवस्था अत्यन्तै कमजोर रहेकोले बुवालाई डाइट (पौष्टिक आहार) जुटाउन गाह्रो रहेको भारोत्तोलन खेलाडी सरिता यादव बताउँछिन् । ५५ केजी तौल समूहमा स्वर्ण पदक विजेता समेत रहेकी उनी भन्छिन् ‘विस्तारै अवस्था सहज हुँदै गएकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने सम्भावना रहेकोले लकडाउनका कारण रोकिएको अभ्यास पुनः थालेका छौं, तर ज्यादा वजन उठाउनुपर्दा डाइट आवश्यक हुन्छ ।’

खेलाडीहरुले राष्ट्रकालागि खेल्ने गरेको भए पनि यस क्षेत्रलाई चौतर्फी उपेक्षा गरेको खेलाडी सरिताको बुझाई छ । चुनौतिका बावजुद पनि केही वर्षयता खेल क्षेत्रमा छोरीहरुको आकर्षण बढ्दै जानुमा खेल क्षेत्रमा राम्रो गरे पछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा प्रवेश पाउन सहज हुने विश्वासकासाथ लागेको उनी बताउँछिन् ।

उनी थप्छिन् ‘खेल क्षेत्रमा लागेपछि शारिरीक सुगठनका साथै प्रतियोगिताहरुमा उत्कृष्ट भएपछि सेना पुलिसमा जागिर खान सजिलो हुन्छ कि भने आश छ ।’ यस्तै खेलमा क्षेत्रमा लागेर भविष्य सपार्ने सोचकासाथ लागेकी छिन् अर्का खेलाडी आरती कुमारी रजक ।

थरिथरीका आलोचना समेत झेल्नुपर्ने अवस्था रहेकोले अभिभावकले छोरीलाई खेल क्षेत्रमा सहज रुपले जान नदिने गरेको बताउँदै उनी भन्छिन् ‘हामीमा छोरा जस्तै साहस र आँट छ तर हाम्रो हौसला बुलन्द गर्ने वातावरण नै छैन, गोल्ड मेडल समेत हात पारेर आएपछि स्थानीय सरकार वा अन्य कुनै निकायले सम्मानसम्म नगरिदिँदा भित्री मन कुँडिने गर्छन् ।’

प्रतियोगितामा गोल्ड मेडल पाउँदा गाउँसमाजले थप प्रोत्साहन गर्नेछन् भनी आशा जगाए पनि खेलाडीहरुप्रति कसैले वास्ता नगरेको आरती दुःखेसो सुनाउँछन् । उनी भन्छिन् ‘कठोर अभ्यास गर्ने खेलाडीलाई डाइट (पौष्टिक आहार)को आवश्कता पर्छ तर करोडौं खर्च गर्ने स्थानीय सरकार तथा संघसंस्थाहरुले समेत उपेक्षा गरेको छ, एक मुठी चनाको भरमा हामी मैदानमा उत्रिन्छौं र जित्छौ पनि ।’

मधेशबाट खेल क्षेत्रमा छोरीहरुको सहभागिता एकदमै न्यून रहेकोले चौतर्फी रुपमा थप प्रोत्साहन पाए आकर्षण बढ्दै जाने आरतीको बुझाइ छ ।

भारोत्तोलनमा देवी चौधरी, शान्ति चौधरी जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला खेलाडीहरु जन्माउने सप्तरी जिल्लामा पछिल्लो समय छोरीहरुको सहभागिता बढाउन आफु प्रयासरत रहेको प्रशिक्षक पुन्तीलाल यादव बताउँछन् । आफुले चिनजानका अभिभावकहरुकहाँ भनसुन गरेर छोरीहरुलाई खेल प्रोत्साहित गर्ने गरेको जानकारी दिँदै उनी भन्छन् ‘एक त अभिभावकहरु छोरीलाई सहज रुपमा खेल क्षेत्रमा आउन दिन मान्दैन, आएका खेलाडीलाई पनि कतैबाट प्रोत्साहन छैन ।’

अन्यत्रका जिल्लाहरुमा गोल्ड मेडल ल्याउने खेलाडीहरुलाई स्थानीय सरकार, संघ संस्था तथा समाजले समेत सम्मान गर्ने गरेको तर यहाँ कसैले चासोसम्म नलिने गरेको उनको गुनासो छ ।

खेल क्षेत्रमा बढ्दो उदासिनताप्रति चिन्ता व्यक्त गर्दै उनी थप्छन् ‘भारोत्तोलनमा कठोर परिश्रम गर्नुपर्ने हुन्छ, त्यसैले डाइट अनिवार्य चाहिन्छ तर यहाँ खेलाडिहरुमा डाइट नै पुग्दैन, कतैबाट सहयोग पनि छैन ।’

देशको झण्डा छातीमा राखेर खेल्ने खेलाडिहरुलाई संघ, प्रदेश र स्थानीय सरकारले अन्य क्षेत्र जस्तै खेलमा समेत बजेट विनियोजन गरी पोशाक, डाइट लगायतका सुविधाहरु दिनुपर्ने उनको आग्रह छ ।

Author:



क्याटोगरी छान्‍नुहोस