जनप्रतिनिधिको चेतावनीः कर्मचारी सरुवा भए आन्दोलन र सरुवा नरोकिए पनि आन्दोलन ! 

राजविराज, १९ फागुन । कर्मचारी सरुवामा असहमति जनाउँदै सप्तरीको रुपनी गाउँपालिकाका आधा दर्जनबढी जनप्रतिनिधिहरुले कडा आन्दोलन गर्ने चेतावनीसहितको ज्ञापन पत्र वुझाएका छन् । मंगलवार गाउँपालिकामा वुझाएको ज्ञापनमा अहमतिको तीन वटा बुँदा उल्लेख गरिएको छ ।

कुशलतापूर्वक सेवा दिँदै आएका कर्मचारीहरुलाई राय सल्लाह नै नगरी सरुवा गरेको, वडा अध्यक्षहरुलाई वेवास्ता गर्दै निरंकुश चरित्र देखाउँदै जनतालाई अनावश्यक दुःख दिने नियतले स्थानीय सरकारको मर्म र भावना विपरित कार्य गरेको र राजनितिक दवाब र आफ्नो अभिष्ट (इच्छा) पूर्ति गर्न सो कार्य गरेको ज्ञापनमार्फत आरोप लगाएका छन् ।

सो बुँदाहरुमा ७ दिनभित्र कारवाही नगरिए कडा आन्दोलनका कार्यक्रम तय गर्ने चार जना वडाध्यक्षसहितका जनप्रतिनिधिद्वारा हस्ताक्षरित विज्ञप्तिमा चेतावनी दिइएको छ । विज्ञप्तिमा वडा नम्वर ३ का अध्यक्ष अमर मुखिया, ४ का अध्यक्ष छेदी ईसर र ५ का अध्यक्ष जगदिश दासले हस्ताक्षर गरेका छन् ।

यसैगरी, कार्यपालिका सदस्यहरु ज्ञानेन्द्र प्रसाद ईसर, भुपिया देवी खंग, देवकी देवी, रामकुमारी सदाले पनि हस्ताक्षर गरेका छन् । उता, गाउँपालिका अध्यक्ष हरेराम यादवले गाउँसभाबाट भएको निर्णयानुसार नै कर्मचारीहरुको सरुवा भएको मधेशलाइभलाई प्रतिक्रिया दिए ।

‘एक वर्षमा कर्मचारीहरुको सरुवा गर्ने गाउँसभाबाट भएको निर्णय अनुसार नै सरुवा भएको छ’ उनले भने–‘अब आन्दोलन गर्ने आएको चेतावनीमा के भन्ने? आज (बुधवार) २० जना गाउँसभा सदस्यहरुले कर्मचारी सरुवालाई स्वागत गर्दै ज्ञापन पत्र वुझाएका छन् र उहाँहरुले पनि सरुवा रोकिए आन्दोलन नै गर्ने चेतावनी दिनुभएको छ । अब के गर्ने ?’ यद्यपी, समस्या समाधान गर्न पहल भइरहेको उनले बताए ।

* गाउँसभा हुनुपर्ने अन्यथा हुन गएकोले संशोधन गरिएको

Author:



क्याटोगरी छान्‍नुहोस