प्रदेश २ ले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट, कुन क्षेत्रलाई कति प्राथमिकता ? (पूर्णपाठ)

जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार (४६.२६ प्रतिशत) र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार (५३.४४ प्रतिशत) बजेट विनियोजन गरेका हुन् ।

त्यसैगरी, वित्तीय व्यवस्थातर्फ १० करोड (०.३० प्रतिशत) रकम विनियोजन गरिएको हो । जसमध्ये आन्तरिक स्रोतको राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, संघीय सरकारको अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ९९ लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने ६ अर्ब २५ करोड गरी ३२ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ जुटाइनेछ ।

आगामी आर्थिक वर्षमा बजेटको लक्ष्य पूरा गर्न १ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरी जुटाइने आथिर्क मामिला तथा योजनामन्त्री यादवले बताए । कोरोना नियन्त्रण तथा उपचार, सडक निर्माण, सिँचाइ, रोजागारी र शिक्षालाई प्राथमिकता दिई बजेट ल्याइएको हो । अगामी आर्थिक वर्षको बजेटमा अधिकांश ठूला पुराना योजनालाई निरन्तरता दिइएको छ । बजेटमा अगामी आर्थिक वर्षमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १६ करोड ५० लाख र प्रदेशसभा निर्वाचन विकासका लागि २ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचकार गर्न आवश्यक औषधि, अक्सिजन सिलिण्डर, रेम्डिसिभर किटलगायतका स्वास्थ्य समग्री खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेशभित्रका विभिन्न अस्पतालमा मिर्गौलापीडितको बढ्दो चापलाई मध्यनजर गरी ३५ वटा डायलाइसिस मेसिन खरिद गर्न १२ करोड रुपैयाँ विनियोजन गरिएछ ।

त्यस्तै, संक्रमितको उपचार गर्न जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालमा कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याउन तथा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्यक्षेत्रको विशिष्ट अध्यययन, अध्यापन र अनुसन्धानका लागि चालु आर्थिक वर्षमा ९ करोड बुझाइसकेको र आगामी आर्थिक वर्षका लागि १० करोड विनियोजन गरिएको छ । यसका लागि थप बजेट व्यवस्थान आन्तरिक ऋणबाट गरिने बताइएको छ ।

क्याथ ल्याब, एड्भान्स सिटी स्क्यान मेसिन, आईसीयूलगायतका उपकरण खरिदका लागि प्रादेशिक अस्पतालाई १९ करोड रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माण र सुधारका लागि १६ करोड रकम छुट्याइएको छ ।

प्रत्येक जिल्लामा एक/एक वटा नमुना विद्यालय स्थापना तथा समुदायकि विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा सुधारका गरी शैक्षिक स्तर अभिवृद्धि गर्न २४ करोड छुट्याइएको छ । समुदायिक विद्यालयमा अध्ययन विद्यार्थीका लागि खेल मैदान निर्माण गर्न ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

अदिवासी, दलित, मुस्लिम तथा मधेस आन्दोलनका शहीद परिवारका बालबालिकाको उच्च शिक्षा अध्ययनका लागि २ करोड बजेट सुनिश्चितता गरिएको छ । एक विद्यालय एक नर्सलाई निरन्तरता दिँदै ३ करोड ५० लाख विनियोजन गरिएको छ । सीप तथा रोजगारका लागि लघु उद्योगको स्थापना गरी विपन्न परिवारलाई रोजगारीको अवसर सिर्जना गर्न ८ करोड रुपैयाँ छुटाइएको छ । महामारीमा रोजगारी गुमाएका युवाका लागि युवा स्वरोजगार कार्यक्रममा १५ करोड रकम विनियोजन गरिएको छ । उद्यमशीलतामार्फत रोजगारीका अवसर सिर्जना गर्न २८ करोड ५० लाख बजेट सुनिश्चित गरिएको छ ।

प्रदेशभित्रको धार्मिक सांस्कृतिक क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि १६ करोड रुपैयाँ छुट्याइएको छ । प्रदेशलाई दूध तथा मासु मिसन कार्यक्रममा र पशुपन्छी तथा मत्स्य विकासका लागि १३ करोड बजेट राखिएको छ । त्यस्तै, चुरे संरक्षणका लागि १८ करोड ३६ लाख, सडक किनारमा ग्रीन वे र फलफूललगायतका अन्य विरुवा रोप्न ७ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशको हरेक निर्वाचनक्षेत्रमा पोखरी संरक्षण सम्वर्द्धनका लागि ३२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, मठ मन्दिर, गुम्बालगायतका धार्मिक क्षेत्र संरक्षणका लागि १८ करोड र पर्यटकीय विकासका लागि पूर्वाधार निर्माण र सम्पदा संरक्षणका लागि १५ करोड रुपैयाँ सुनिश्चित गरिएको छ । हरेक निर्वाचनक्षेत्रमा हरित पार्क निर्माण गर्न १६ करोड र स्नो सिटी फन पार्कका लागि १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी, प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर पक्की सडक निर्माण कार्यक्रमलाई निरन्तरता दिँदै ६७ करोड २० लाख रुपैयाँ छुट्याइएको छ । प्रदेशमा सञ्चालनमा रहेका दलित गरिब आवास निर्माणलाई निरन्तरता दिन ८ करोड र विपन्न नागरिकलाई लक्षित गरी सुरक्षित आवासका लागि महेन्द्र नारायणनिधि आवास आयोजना शुभारम्भका लागि २० करोड रकम विनियोजन गरिएको छ ।

त्यसैगरी, प्रदेशको कृषि प्रणाली सुदृढ गर्न मझौला सिँचाइ आयोजना निर्माणका लागि ४१ करोड रुपैयाँ विनियोजन गरिएको छ । बाढीपहिरोजस्ता समस्या र नदी नियन्त्रणका लागि ३० करोड रुपैयाँ बजेटमा सुनिश्चित गरिएको छ । वडादेखि सदरमुकाम जोड्ने सडक निर्माण र ढलान गर्न ६८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी, सार्वजनिक निर्माणसम्बन्धी कार्यका लागि २० करोड, रामराजा सिंह र गजेन्द्रनरायण सिंहको सालिकका लागि ४ करोड र दुर्गानन्द झाको सालिक निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश, जिल्ला, इलाका, प्रहरीचौकी, ट्राफिकलगायतका निकायको पूर्वाधार निर्माणका लागि ७ करोड ३३ लाख रुपैयाँ छुट्याइएको छ भने मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाउका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट बक्तव्य-२०७८ (1)
Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780