चन्दा संकलन गरी सप्तरीका युवाहरुद्वारा नदीको बाँध मर्मत

राजविराज, ६ असार । मुलुक संघीय संरचनामा गएसँगै ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नाराले व्यापक चर्चा पायो । गाउँमै सिंहदरबार भएपछि स्थानीयका समस्या स्थानीय सरकारले नजिकबाटै नियालेर समाधान गर्ने सर्वसाधारणमा आशा पलाउनु पनि अस्वभाविक होइन् । तर, स्थानीय तहका सरकारले पनि दुरदराजका सरकार झैं देखाइरहेको व्यवहारले ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मान’ जस्तै सावित भइरहेको छ ।

स्थानीय सरकारको यस्तै व्यवहार र वेवास्ताको पछिल्लो उदाहरण हो सप्तरीको डाक्नेश्वरी नगरपालिका । वर्षेनी खडक नदीको बाढीले वडा नम्वर ६ कटैया टोलका सर्वसाधाणहरुले समस्या झेल्दै आएको छ । तर, दिर्घकालिन रुपमा नदी नियन्त्रण गर्नेतर्फ स्थानीय सरकारले गम्भीरता देखाएको छैन् ।

दशकौंदेखिको समस्या समाधान गर्नेतर्फ स्थानीय सरकारले ध्यान नदिँदा बाढीको त्रास कम गर्न युवाहरुले सक्रियता बढाएका छन् । उनीहरुले चन्दा संकलन गरेरै नदी नियन्त्रण कार्यमा जुटेका छन् । गाउँले र हिमालयन क्लव कटैयाको सहयोगमा चन्दा संकलन गरेर नदी नियन्त्रण कार्यमा युवाहरु लागेका हुन् ।

‘वर्षेनी नदीको बाढीले बस्ती र बालीनालीमा बसेर तहसनहस बनाउँछ, सयौं घर डुवान हुनुकासाथै डेढ सय विघा जग्गामा लगाइएको बालीनाली नष्ट हुँदै आएको छ, यस वर्ष बाढीले नहसनहस बनाउने निश्चित नै छ तर यहाँका जनप्रतिनिधिहरुलाई वास्ता नै गर्दैनन्’ स्थानीय किसान राजदेव नरसरियाले भने–‘अनि हामीले सल्लाह गरेरै बस्ती र बालीनाली जोगाउन चन्दा संकलन गरेर नदीको मर्मत कार्यमा लागे ।’

नगर प्रमुख शिवनारायण साह र वडाध्यक्ष रामनारायण यादवले पटक–पटक समस्या बुझेर गएपनि नदी नियन्त्रणतर्फ पहल नगरेको उनीहरु बताउँछन् । ‘उहाँहरु प्रत्यक्ष रुपमै हेरेर जानु भएको छ, नदी नियन्त्रणतर्फ काम हुन्छ भनेर प्रतिवद्धता पनि जनाउनु भएकै हो तर काम चैं केही गर्नु भएको छैन्’ क्लवका सदस्य कमलेश कुमार यादवले भने–‘त्यसपछि पनि हामीले धेरै आग्रह गरे तर सुनुवाइ नै गर्नु हुनन् ।’

स्थानीय सरकारले ध्यान नदिएपछि सिंचाई विभाग जिल्ला सिंचाई कार्यालय सप्तरीमा पनि नदी नियन्त्रणको लागि आग्रह पनि सुनुवाइ नभएको स्थानीयहरुले गुनासो गरे । ‘हामीले सबै गुहार गरे तर कोही सुन्नुभएन’ क्लवका उपाध्यक्ष महेन्द्र सदाले भने–‘अनि हामीले चन्दा संकलनमा लागे, चन्दाबाट १ लाख ५० रुपैयाँ संकलन भएको छ र सोहीबाट नदी नियन्त्रणको कार्य थालेका छौं ।’

के भन्छन् नगर प्रमुख साह ?

नगरपालिकाका नगर प्रमुख साहले दुई दिनअघि मात्रै निर्णय गरेर नदी नियन्त्रण गर्न ३ लाख ५० हजार रुपैयाँ विनियोजित गरेको बताए । ‘चन्दा संकलन गरेर कार्य भइरहेको जानकारी पाए, सोसँगै नदी नियन्त्रण गर्न नगरपालिकाबाट पनि ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेका छौं’ उनले मधेशलाइभलाई भने–‘सो बाहेक पनि हामी बाढीको पूर्व तयारीमा लागेका छौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस