कोरोना संक्रमण दर फेरि बढ्न थाल्यो

काठमाडौं, १७ असार । स्थिर अवस्थाको कोरोना संक्रमणदर उकालो लाग्न थालेको पाइएको छ । केही दिनयता संक्रमित संख्या क्रमशः बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ ।

पछिल्लो दिन नेपालमा संक्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ । जारी निषेधाज्ञा खुकुलो हुँदा हेलचेक्रयाईं अत्यधिक बढेकोसमेत पाइएको छ । बजारमा आवतजावत बाक्लिँदै गएको छ । जसकारण भौतिक दूरी कायम हुन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले संक्रमण जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पूर्णतः कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । जनस्वास्थ्य मापदण्ड पालना र आत्मानुशासन हुनसके संक्रमण जोखिमबाट बच्न सकिने जनस्वास्थ्य विज्ञ बताउँछन् ।

मन्त्रालयको तथ्यांकअनुसार गत आइतबार १ हजार ९ सय २० जनामा संक्रमण देखिएको थियो । सोमबार २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएकोमा मंगलबार २ हजार ६ सय ३६ जनामा संक्रमण देखियो । हिजो बुधबार देशभर थप २ हजार ८ सय ९२ जनामा पुष्टि भएको छ । क्रमिक रूपमा दैनिक संक्रमित संख्या बढ्दो देखिन्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५ सय ६८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गरिएको छ । ७ हजार १ सय ८७ को पीसीआर परीक्षण गर्दा १ हजार ८ सय ८९ र ४ हजार ३ सय ८१ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ३ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमित संख्या ३३ हजार ५ सय ६१ पुगेको छ । देशभर बुधबार ३ हजार ५ सय ९७ संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ४१ संक्रमितको मृत्यु भएको छ । हाल, देशभर ६ सय ४४ कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस