धनुषा–सिरहा जोड्ने कमला पुल भासिएपछि छानबिन गर्न माग

जनकपुरधाम । कमला खोलामा आएको बाढीले पुल भासिएपछि गुणस्तर र डिजाइनबारे छानबिन गर्न माग भएको छ । जिल्लाका विभिन्न राजनीतिक दल, संघ संस्था र प्रदेश सरकारले डिजाइन र पुलको गुणस्तरबारे छानबिन गर्न माग गरेका हुन् ।

आइतबार कमला जालधार संरक्षण अभियानले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्रीलाई ध्यानकर्षण हुनेगरी बुझाइएको ज्ञापनपत्रमा उच्च स्तरीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । पुल नभएर जनतालाई निकै सास्ती भएको भन्दै पूर्णनिर्माण पनि तुरुन्तै गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै शनिबार पुलको निरीक्षण गर्न पुगेका पूर्वमन्त्री रामचन्द्र झाले गलत डिजाइनकै कमला पुल भासिएको बताए । “एक त डिजाइन नै गलत थियो । डिजाइनअनुसार काम पनि भएन । त्यसैले पुल भासियो । मैले त शिलान्याशको बेला नै डिजाइन सच्याउन भनेको थिएँ,” उनले भने, “पुल कम्तीमा एक हजार मिटरको बन्नुपर्थ्याे । आठ सय मिटरको मात्रै बन्दा भासिएको हो ।”

उनले पिलरको गहिराइ ३७ मिटर हुनुपर्ने स्टिमेटमा उल्लेख भएपनि १७ मिटर गहिराइमा पिलर खडा गरिएको बताए । उनले पुल निर्माणमा ठूलो रकमको चलखेल भएको पनि दाबी गरे । तत्कालीन डीई अर्जुन यादवको मिलोमतोमा पप्पु कन्ट्रक्सनले गुणस्तरहीन काम गरेको उनको आरोप छ । सञ्चालन नुहँदै पुलको पिलर भासिएपछि सिरहा र धनुषाका प्रमुख जिल्ला अधिकारीले पनि गृह मन्त्रालयलाई छाबिन गर्न प्रतिवेदन पठाएका छन् । धनुषाका सिडिओ बास्तोला र सिरहाका सिडिओ प्रदिपराज कँडेलले छाबिन गर्न सरकारसँग अनुरोध गरेका छन् ।

यस्तै प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयले पनि सडक विभागलाई छाबिन गर्न निर्देशन दिएको छ । मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक विभागलाई पुल भासिनुको कारणबारे सत्य बुझ्न छानबिन समिति गठनको निर्देशन दिएका हुन् ।
“पुलको डिजाइन, प्रयोग भएको निर्माण सामग्रीसहितका विषयमा सत्यतथ्य बुझ्न सडक विभागलाई छानबिन समिति बनाउन निर्देशन दिएको छु,” उनले भने, “कहीँकतै अनियमितता भएको छ भने दोषीमाथि कारबाही हुन्छ ।”

यस्तै सिरहामा युवाहरूले छाबिन गर्न माग गर्दै प्रर्दशनसमेत गरेका थिए ।

चार सय ७० मिटर पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरुमा पप्पुले मात्र काम गरेको थियो । करिब ३५ प्रतिशत काम सकेको पप्पुले घाटा लाग्ने अवस्था देखेपछि हात झिकेको थियो । त्यसपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको हो । भासिएको स्पान निर्माणको काम पप्पुले नै गराएको भन्दै लुम्बिनी बिल्डर्सले माथिको काम मात्र गराएको प्रजिअ कँडेलले बताए । सुरुको सम्झौताअनुसार ४२ महिनामा निर्माण सम्पन्न हुनुपर्ने पुल झण्डै १० वर्षपछि निर्माणको अन्तिम चरणमा पुगेको थियो ।

Author:

क्याटोगरी छान्‍नुहोस