तिलाठी कोइलाडी गाउँपालिकाः न्यायिक समितिकी संयोजकबाटै असुरक्षित कर्मचारी !

राजविराज, १९ साउन । स्थानिय सरकारको न्यायिक समितिका संयोजक समेत रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता यादवले हातपात गर्ने धम्की दिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।

माग गरिएको सूचनाहरु उपलब्ध गराउँदै आए पनि कार्यकक्षमै बोलाएर भोलीदेखि कार्यालय नआउन र आएमा हातपात गर्नेसम्मको धम्की दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘यस तिलाठी कोइलाडी गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवले आ.ब.०७७/०७८ मा विभिन्न शाखाहरुबाट सम्पादन गरिएको कार्यक्रमहरुको बारेमा मौखिक रुपमा जानकारी माग गर्दा प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाबाट सबै शाखालाई पत्र काटि सम्पादित कार्यक्रमहरुको विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको र शाखाहरुबाट प्राप्त कार्यक्रमको विवरणहरु उपाध्यक्ष यादवलाई उपलब्ध गराएको’ विज्ञप्तिमा भनिएको छ, ‘उपाध्यक्ष यादवले गाउँ सभाको निर्णय, विभिन्न बिषयगत समितिको निर्णयहरु लगायतको बिषयमा मिति २०७८/४/१२ गते लिखित रुपमा सूचना माग गर्नुभएको सन्दर्भमा समयभित्रै सूचना उपलब्ध गराउने प्रतिबद्धता जनाई सूचना उपलब्ध गराउने क्रममा रहेको अवस्थामा मिति २०७८/४/१९ गते प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा, स्वास्थ्य संयोजक शैलेश कुमार मिश्र र कार्यक्रम अधिकृत राजेश कुमार झालाई आफ्नो कार्यकक्षमा बोलाई विवाद गर्दै भोलिदेखि कार्यालय नआउन र कामकाज नगर्न चेतावनी दिएको, प्रमुख प्रशासकीय अधिकृत ज्यूले कामकाज नगर्ने बारेमा लिखित दिनुस्भन्दा लिखित नदिने र कामकाज नगर्नुस् कामकाज गरेमा हातपात गर्नेसम्मको धम्की दिएको ।’

विज्ञप्तिमा उपाध्यक्षको सो कार्य प्रति प्रमुख प्रशासकीय अधिकृत झाले आपत्ति जनाएका छन् भने शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म भोली (बुधवार)देखि स्वास्थ्य संस्था बाहेक गाउँपालिका र मातहतका वडा कार्यालयबाट हुँदै आएको कामकाजहरु ठप्प पार्ने झाले चेतावनी समेत दिएका हुन् । ‘उपाध्यक्ष यादवले गत विगतमा पनि कर्मचारीलाई समय समयमा धम्की दिंदै आएको र कर्मचारीहरु माथि हातपात समेत गरेको हुँदा निज उपाध्यक्ष यादवले माफी नमागेसम्म तथा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म कार्यालयमा कामकाज गर्ने अवस्था नरहेको हुँदा मिति २०७८÷०४÷२० गतेदेखि स्वास्थ्य संस्था बाहेक गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गरिने कामकाज ठप्प पार्ने र आन्दोलनको अन्य कार्यक्रमहरु सञ्चालन गर्ने कर्मचारीहरुको बैठकबाट निर्णय गरिएको जानकारी गराउँदछौं’, विज्ञप्तिमा उल्लेख छ ।

सो घटनाको बारेमा गाउँपालिकाका अध्यक्ष, गाउँ कार्यपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, मूख्यमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत लेखी पठाउने कर्मचारीहरुको बैठकबाट निर्णय समेत गरिएको छ ।

उता, गाउँपालिकाकी उपाध्यक्ष यादवले सूचना दिन आलटाल गरिरहदा सोही बारे बुझ्न प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई कार्यकक्षमा बोलाएर जानकारी मात्रै लिएको बताइन् । ‘म पनि उपाध्यक्ष हो र मैले सूचना मागेको धेरै समय भइसकेकाले छिट्टो उपलब्ध गराइदिनुस्, हातपातै गर्न मजबुर नपार्नुस्, मैले त्यसरी चैं भनेकै हो’ उनले भनिन्–‘काम नगरेपछि कार्यालय आएको के मतलव, आउनुस् र हाजिर मात्रै गर्नु, यति मात्रै मैले भनेको हुँ ।’

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780