प्रदेश २: एकपछि अर्को दलित युवकको रहस्यम मृत्यु !

राजविराज, २० साउन । प्रदेश २ मा प्रहरी हिरासतमै रहस्यमय ढंगले एक दलित युवकको मृत्यु घटनाको साता दिन नवित्दै फेरी अर्को दलित युवकको रहस्यमय अवस्थामा शव भेटिएको छ । सप्तरीको खडक नगरपालिका–३ गरुराहामा आज विहान स्थानीय मुक्ति रामको २५ वर्षीय छोरा श्यामसुन्दर राम मृत अवस्थामा भेटिएको हो ।

घरदेखि झण्डै ५० मिटरको दुरीमा नालामा श्यामसुन्दर मृत अवस्थामा भेटिएको छ । हिजो साँझ नै घरबाट निस्किेका श्यामसुन्दर रातभरि नआएको र विहान सडकसँगै रहेको नालामा मृत भेटिएको परिवारजनले बताए । श्यामसुन्दरलाई हत्या गरेर नालामा फालिएको परिवारजनले दावी गरेका छन् ।

परिवारजनले घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन प्रहरीसँग आग्रह गरे । यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले शव पोष्टमार्टमकालागि पठाइएको र घटनाबारे अनुसन्धान थालिएको बताए ।

‘प्रारम्भिक अनुसन्धानअनुसार श्यामसुन्दर मदिरा सेवन गरेर नालामा लडेको हुनसक्ने पनि देखियो, यद्यपी पोष्टमार्टम रिर्पोट आएसँगै सोही अनुसार अनुसन्धान अघि बढाउँछौं’, उनले भने । मृतक श्यामसुन्दरका पत्नी र अढाइ वर्षीया छोरी छन् ।

यसअघि साउन १५ गते धनुषामा लक्ष्मीनियाँ गाउँपालिका–२ का ४० वर्षीय पल्टु रविदासको प्रहरी हिरासतमा रहेको शौचालयभित्र आफ्नै गन्जीले पासो लगाएर झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस