रौतहटमा उद्योग दर्ता तेब्बरले वृद्धि, २ करोडभन्दा बढि राजस्व संकलन

रौतहट । बेरोजागरीको समस्याबाट चिन्तामा रहेका रौतहटका युवाहरु पछिल्लो समय उद्योग दर्ता गरी उद्यमी बन्न थालेका छन् । कोरोना महामारीका कारण वैदेशीक रोजगारीबाट फर्किएर आएका वा जान नपाएका युवाहरु आत्मनिर्भरका लागि घरेलु तथा साना उद्योग दर्ता गरी व्यापार व्यवसाय गर्न थालेका हु्न् ।

अघिल्ला वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता गरी व्यापार व्यवसाय गर्नेहरुको संख्यामा तेब्बरले वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गौरले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार २०७६/७७ मा ६८२ ओटा उद्योग दर्ता भएकोमा गत आर्थिक वर्ष २०७७/७८ मा १ हजार ७२८ ओटा उद्योग दर्ता भएको छ ।

२०७६/७७ तथा २०७७/७८ मा गरी १२ हजार ५१२ जनाले रोजगारी पाएका छन् । कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार अघिल्लो वर्षमा ३ हजार ५५६ र गत वर्षमा ८ हजार ९५६ जनाले उद्योगमा रोजगारी पाएका हुन् । कार्यालयको तथ्यांकमा करीब ७५ प्रतिशत कृषि तर्फका उद्योग दर्ता भएका छन् भने अरु उद्योग उत्पादनमुलक, पर्यटन र अन्य सेवा मूलक दर्ता भएको उल्लेख छ ।

घरेलु तथा साना उद्योग कार्यालय गौरका अनुसार २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा ८० लाख रुपैयाँ भन्दा बढी राजस्वमा वृद्धि भएको छ । गत वर्ष २ करोड ४८ लाख ५६ हजार ५०० रुपैयाँ राजस्व संकलन भएकोमा अघिल्लो वर्ष १ करोड ६८ लाख ३० हजार ५५० संकलन भएको हो । उद्योग दर्ता, फर्म दर्ता, नवीकरण लगायतबाट उक्त राजस्व संकलन भएको कार्यालयका प्रमुख जयकान्त झाले बताए । उनका अनुसार गत आर्थिक वर्षमा दुई करोड भन्दा बढी राजस्व संकलन भएकोे छ ।

युवा युवतीलाई स्वरोजगार बनाउने उद्देश्यले गत आर्थिक वर्षमा कार्यालयले सिलाइ कटाई, प्लम्बिङ, मोवाइल मर्मत, हाउस वायरिङ, डल कुसन, मुढा बनाउने, च्याउ खेती, कम्प्यूटर, तरकारी खेती लगायतका तालिम सञ्चालन गरेको थियो ।

विभिन्न संघ संस्थाले आत्मनिर्भरका लागि तालिम दिने र बैंक तथा वित्तीय संस्थाले कर्जा दिने भएपछि पछिल्लो समय उद्योग दर्ता गर्नेकोे संख्या बढेको उद्यमीहरु बताँउछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस