प्रदेश २ सहित सातवटै प्रदेशमा आज पानी पर्ने, चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

जनकपुरधाम । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पाँचवटा प्रदेशका विभिन्न स्थानमा पानी परिरहेको छ । देशभर सामान्यदेखी पूर्ण बदली रहँदा प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

यसैबीच, हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमि भू–भागमा तराई नजिक रहेको छ भने पूर्वी भू–भागमा तराईभन्दा केही पर दक्षिणतिर रहेको छ । बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको विभागले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस