जसपाको केन्द्रीय समिति बैठक सुरु

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ। मंगलबार विहान ११ बजेदेखि डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बैठक सुरु भएको हो। पार्टी कार्यालमा स्थान अभाव भएपछि बैठक पार्टी प्यालेसमा राखिएको जसपाले जनाएको छ।

सोमबार पार्टीको कार्यकारिणी बैठकले केन्द्रीय समितिमा पेस हुने अजेण्डा तय गरेको नेता नवराज सुवेदीले जानकारी दिए।

बैठकमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रतिवेदन पेश गर्नेछन्। त्यस विषयमा केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन्।

यस्तै बैठकमा पार्टी संगठनात्मक सुदृढीकरण र जनजागरणका लागि चार महिने अभियानका विषयमा प्रस्ताव गरिने नेता सुवेदीले बताए।

अभियानको संयोजकको रुपमा अशोक राईको नाम प्रस्ताव गरिएको छ। अन्य विविध विषयका रुपमा सरकार लगायत संगठन विस्तारका विषयसमेत समेटिएका छन्।

जसपाका ८ सय १ जना केन्द्रीय समिति सदस्यमध्ये ६ सयभन्दा धेरै आफ्नो पक्षमा रहेको उपेन्द्रपक्षको दाबी छ। पार्टी आधिकारिकता आफूहरुले पाएकाले बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा हुने बताउँदै आएका छन्।

बैठक दुई दिन चल्ने जसपाले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस