सप्तरीमा जिता खोलाको तटबन्ध भत्कियो, डेढ सयबढी घर डुवान

राजविराज, १ भदौ । जिता खोलाको तटबन्ध भत्किँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका डेढ सयभन्दा बढी घर डुवान भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–७ मनसापुरस्थित मंगलबार विहान खोलाको पश्चिमी तटबन्ध भत्किएको हो ।

वडा नम्वर–७ का मनसापुर, ४ का तिलाठी र वडा नम्वर ५ का को.बरसाइन तथा कुशहाका डेढ सयभन्दा बढी घर डुवान भएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । ‘डेढ सयभन्दा बढी घर डुवानमा परेको जानकारी आएको छ भने थप अन्य विवरण संकलन कार्य भइरहेको छ’ उनले भने–‘केही घरहरु भत्किएको पनि छ ।’

विहानैदेखि खोलामा पानीको वहाव उच्च भएसँगै तटबन्ध भत्किएर खोलाको पानी बस्तीतर्फ सोझिएको गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख राजेशकुमार झाले जानकारी दिए ।

खोलाको पानी राम टोल, खंग टोल, मण्डल टोल र सरदार टोलका गरी डेढ सय घरमा पसेको उनले बताए । बाढी प्रभावितहरुलाई व्यवस्थापन गर्न तत्काल कार्य सुरु गरिएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस