संकटमा प्रदेश १ सरकार: तानातानमा एमाले सांसद

जनकपुरधाम । नेकपा एमालेमा फुटसँगै प्रदेश १ को सरकार संकटमा परेको छ। प्रदेश १ मा शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ। एमाले औपचारिक रूपमा फुट्ने निश्चितजस्तै भएपछि प्रदेश १ सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको थियो। प्रदेशसभामा अविश्वासको प्रस्ताव आउने डरले सरकारले हतारहतार अधिवेशन अन्त्य गरेको आरोप प्रतिपक्षी दलहरूले लगाउँदै आएका छन्।

प्रदेशसभा १ मा प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकार ढल्ने निश्चित भएपछि केही दिन भए पनि सत्तामा रहन र कागजात मिलाएर भ्रष्टाचार ढाकछोप गर्न सरकारले हतारहतार प्रदेशसभाको अधिवेशन अन्त्य गरेको बताएका छन्। उनले प्रदेश १ मा दसैंअघि नै नयाँ सरकार गठन हुने ठोकुवा गरेका छन्। उनले भने, ‘मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार अब, धेरै दिन नटिक्ने निश्चित भएकाले दसैंअघि नै नयाँ सरकार गठन हुन्छ।’ प्रमुख सचेतक कार्कीले प्रदेश १ मा संघमा जस्तै गठबन्धन दलहरूकै सरकार बन्ने दाबी गरे। उनले भने, ‘एमालेको सरकार ढलेपछि नयाँ सरकार कांग्रेससहितको गठबन्धनको बन्नेछ। ’

एमालेका नेताहरू भने तत्काल सरकार ढल्ने अवस्था नरहेको दाबी गर्छन्। प्रदेशसभा १ एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले तत्काल सरकार ढल्ने अवस्था नरहेको बताए। एमालेबाट अलग भएर माधवकुमार नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा प्रदेश १ का पाँचजना सांसद पनि जाने अवस्था नरहेकाले तत्कालै प्रदेश १ को सरकार ढल्ने अवस्था नरहेको उनको भनाइ छ। तर, एमालेका पाँचजना मात्रै सांसद नेकपा एकीकृत समाजवादीतर्फ लागे भने पनि सरकार संकटमा पर्ने उनले बताए। राजभण्डारीले भने, ‘पार्टीमा सांसद तानातान भइरहेकाले कति सांसद कता लाग्छन् भन्ने निश्चित नभईकन सरकार रहन्छ वा रहँदैन भन्न सकिने अवस्था छैन। ’ यतिबेला धेरै सांसदलाई आफ्नो पक्षमा पार्न एमाले र नेकपा एकीकृत समाजवादीकाका नेताहरू सक्रिय छन्।

प्रदेशसभामा कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी एकातर्फ छ भने अर्कोतर्फ नेकपा एमाले छ। प्रदेशसभामा नेकपा एमालेका ५२, नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन्। एमालेका ५२ सांसदमध्ये १५ जना आफ्नो पक्षमा आउने नेकपा एकीकृत समाजवादीका नेताहरूले बताउँदै आएका छन्।

तर, एमालेका पाँचजनाभन्दा बढी सांसद नेकपा एकीकृत समाजवादीतर्फ लागे राई नेतृत्वको सरकार ढल्ने भएकाले सरकार पक्षका नेताहरू सबै सांसदलाई आफ्नै पक्षमा राख्न तल्लीन छन्। एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् भन्ने निश्चित भएपछि मात्रै नयाँ सरकार बन्ने भएकाले यसबारे औपचारिक रूपमा छलफल सुरु नभएको विपक्षी गठबन्धनका नेताहरूले बताएका छन्।

एमालेका कति सांसद नेकपा एकीकृत समाजवादीमा जान्छन् भन्ने निश्चित भइनसके पनि दलहरूबीच आन्तरिक र अनौपचारिक छलफल भने सुरु भइसकेको छ। प्रदेश १ मा नयाँ सरकार बने कसको नेतृत्व रहने भन्ने टुंगो पनि लागिनसकेको विपक्षी गठबन्धनका नेताहरू बताउँछन्। हाल नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र राई, नेपाली कांग्रेसका हिमाल कार्की र एमालेका भीम आचार्यमध्ये एक नयाँ मुख्यमन्त्री बन्ने चर्चा छ। माधवकुमार नेपाल समूहमा रहेका नेता आचार्यले ओलीले मुख्यमन्त्री बन्नाउने आश्वासन दिएपछि कित्ता बदलेको बताइएको छ।

प्रदेश ३ मा एमाले सांसद अष्टलक्ष्मी शाक्यको नेतृत्वमा नयाँ सरकार गठन गरेकै दिन प्रदेश १ मा पनि आचार्यको नेतृत्वमा सरकार गठन गर्ने आन्तरिक तयारी थियो। तर, सरकार धेरै दिन नटिक्ने आकलन गरी गठन नभएको एमाले स्रोतले जनाएको छ। सत्तारुढ एमाले र विपक्षी गठबन्धन दुवैले एमालेबाट नेकपा एकीकृत समाजवादीका कति सांसद जान्छन् भन्ने हेरिरहेका छन्। यसै आधारमा प्रदेश १ को आगामी राजनीतिक यात्रा तय हुने देखिएको छ।

कांग्रेसमा खटपट

विपक्षी गठबन्धनको नेतृत्वमा सरकार बन्ने निश्चित नहुँदै कांग्रेसमा खटपट सुरु भएको छ। कांग्रेस संस्थापन पक्ष (देउवा) र कोइराला पक्षका नेताहरूबीच सरकारको नेतृत्व गर्ने विषयमा खटपट सुरू भएको स्रोतले जनाएको छ। प्रदेश १ मा नेपाली कांग्रेस संसदीय दलको नेता राजीव कोइराला छन्। कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदा कोइराला नै मुख्यमन्त्री हुने निश्चित छ। तर, संस्थापन पक्षका नेताहरूले हिमाल कार्कीलाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्री बनाउने तयारी गरिरहेको स्रोतको दाबी छ। कार्कीले भने आफू मुख्यमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन्। उनले भने, ‘म मुख्यमन्त्रीको दौडमा छैन, कांग्रेसले मुख्यमन्त्री पाए संसदीय दलका नेता राजीव कोइराला नै मुख्यमन्त्री बन्नुहुन्छ।’

Author:



क्याटोगरी छान्‍नुहोस