स्वास्थ्यमा बेथिति: जनकपुर अस्पतालमा सादा कागजमा लेखेर १ करोड ४१ लाख भत्ता लिइयो

जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा एकपछि अर्को बेथिति देखिने क्रम जारी छ। केही अस्पतालले कमिसनकै लागि उपकरण किनेर थन्काइरहेका छन् भने केहीले नियमविपरित बिल भर्पाई नै नराखी सादा कागजमा लेखेकै भरमा भत्ता लिइएको पाइएको छ।

प्रादेशिक अस्पताल, जनकपुरमा सादा कागजमा लेखेको भरमा दैनिक भ्रमण भत्ता, अन्य भत्ता र विद्युत प्राधिकरणको रकम भुक्तानी गरेको तथ्य फेला परेको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अस्पतालले सादा काजगमा कर्मचारीहरुको दैनिक भ्रमण भत्ता, अन्य भत्ता र विद्युत प्राधिकरणको भुक्तानी उल्लेख गरी १ करोड ४१ लाख ३८ हजार खर्च गरेको हो।

आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६ (३) बमोजिम कुनै रकमको भुक्तानी दिँदा खर्चको बिल भर्पाइसहित लेखा राख्नुपर्ने हुन्छ। यस्का साथै सोही नियमावलीको नियम ३६ (८) बमोजिम रीत पुगे नपुगेको जाँच गरेर मात्र रकम भुक्तानी दिनुपर्ने हुन्छ। तर अस्पतालले उक्त नियमविपरित सादा कागजमा लेखेकै भरमा रकम खर्च गरिएको पाइएको हो।

महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षणको क्रममा उक्त खर्चको स्रेस्ता फेला पार्न नसकेपछि खर्चको स्रेस्ता पेश गर्न सुझाव दिएको छ।

सोझै खरिद
सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ को नियम ८५ अनुसार २० लाख रुपैयाँसम्मको औषधि सोझै खरिद गर्न सकिने व्यवस्था रहेको छ। तर अस्पतालले विभिन्न 35 फर्मबाट पटक-पटक २० लाख रुपैयाँभन्दा बढी १ करोड २४ लाखको विभिन्न औषधि एवं उपकरण खरिद गरेको छ।

‘नियममा तोकिएको सीमा समेतलाई नाघी खर्च गर्नु उपयुक्त देखिएन। सीमा भन्दा बढीको खरिद कार्य प्रतिस्पर्धाबाट गर्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ।

नभएको कामको भुक्तानी
आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६(८) मा भुक्तानी पूर्व रीत पुगे नपुगेको चेकजाँच गरेर मात्र भुक्तानी दिनु पर्ने व्यवस्था छ।

अस्पतालले क्यान्टिन भवन निर्माणका एक कन्स्ट्रक्सनलाई दोश्रो तथा अन्तिम बिलको २१ लाख ७१ हजार रुपैयाँ भुक्तानी गर्दा काम सम्पन्न गरेको भनी भुक्तानी गरेकोमा भवन निरीक्षण गर्दा पार्ट्रेसन र ढोका राख्ने काम गरेको देखिएन। नभएको कामको भुक्तानी गर्नेलाई कानुन बमोजिम कारवाही गरी ४ लाख ४ हजार असुल गर्न महालेखाले सुझाव दिएको छ।

करारको कर्मचारीहरुलाई महंगी भत्ता
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ०७४ साल वैशाख २५ गतेको परिपत्र अनुसार करारको कर्मचारीहरुलाई एक महिनाको पारिश्रमिक वरावरको रकम, चाडपर्व खर्च र सालवसाली रुपमा चैत्र महिनामा निजामती कर्मचारी सरह पोशाक भत्ता बाहेक अन्य भत्ता भुक्तानी दिन नमिल्ने उल्लेख छ।

तर अस्पतालले समिति तर्फ करारमा कार्यरत ५२ कर्मचारीहरुलाई पारिश्रमिक भुक्तानी गर्दा परिपत्र अनुसार भुक्तानी दिन नमिल्ने मंहगी भत्ता १४ लाख ५७ हजार दिएको पाइएको छ। महालेखाले उक्त रकम असुल गर्न सुझाव दिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780