प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्री निवास अन्धकार, झण्डै जोगिए कृषि मन्त्री

जनकपुरधाम, १० भदौ । विहीबार विहान रुख ढलेर विद्युतको पोल भाँच्चिएका कारण विद्युत सेवा अवरुद्ध हुँदा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्री निवासहरु अन्धकारमय भएको छ ।

मधेश भवनभित्र रहेको प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री रामसरोज यादव, आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, सामाजिक विकास मन्त्री नवल किशोर साह, वन तथा पर्यटन मन्त्री रामनरेश यादव लगायतका मन्त्रीहरुको निवास अन्धकारमय भएको हो । सामाजिक विकास मन्त्री साहको निवासभित्र रहेको ५० फिट अग्लो तथा ६ फिट चौडाई भएको बडहरको विशाल रुख विहान करिब ९.३० बजेको समयमा ढलेको जनाईएको छ ।

रुख ढल्दा मन्त्री साह निवासको पर्खाल, तथा गेट भत्किएको छ भने बिजुलीको पोल समेत भत्किएको छ । विद्युत अवरुध हुँदा मधेश भवनभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा अन्य निवासहरुको विद्युत सेवा अवरुद्ध भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् । उनका अनुसार ईन्भर्टर समेत चार्ज नरहेका कारण गर्मी समयमा रात काट्न समस्या भएको छ ।

दिनभरी निरन्तर वर्षा भईरहेका कारण ढलेको रुख हटाउने तथा विद्युत पोल जडान गर्ने कार्य प्रभावित भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री साहका स्वकीय सचिव नवनित झाले जानकारी दिएका छन् । ‘रुख पन्छाउन जेसिबी आए पनि थप उपकरण आवश्यक रहेकोले काम अगाडि बढ्न सकेन’ उनले भने ‘रुखको सर्जमिन मुचुल्का तयार भईसकेको तथा नेपाल विद्युत प्राधिकरणले समेत चासो देखाएकोले शुक्रवारसम्म मात्र विद्युत सुचारु हुने अवस्था छ ।’
झण्डै जोगिए कृषि मन्त्री
निवासमा पर्खाल छेउमा सदा झैं सर्वसाधारणसँग भेंटघाटमा व्यस्त थिए भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री साह । रुखको ओतमा बस्न सहज भएकोले विहीबार पनि उनी त्यही बसेर भेटघाटमा व्यस्त थिए । पानी पर्न थालेपछि मन्त्री साह निवासभित्र छिरेका थिए । ‘केही मिनेटको अन्तरालमा अचानक ठूलो आवाजसँगै चट्याङ्ग परेको जस्तो आवाज बिजुली चम्केको जस्तो अनुभूति भयो’ मन्त्री साहले भने ‘निवास अगाडि ठुलो चट्याङ्ग पर्यो कि भनी सोच्दै अक्क नबक्क भए, छतबाट तल हेर्दा ठूलो बडहरको रुख ढलेको देखेँ, पर्खाल र निवासको गेट समेत भत्किसको थियो, रुखले पुरै बाटो छोपिसकेको थियो ।’

केही मिनेट अघि मात्र त्यहाँबाट निवास नपसेको भए ज्यान समेत जानसक्ने अवस्था रहेको उनले बताए । निवासमा रहेका कर्मचारीहरु तथा गाडी झण्डै जोगिएको जानकारी दिँदे उनले थपे ‘संयोग ठिक थियो, पानी पर्नथालेपछि पर्खाल छेउबाट उठेर निवास छिर्यौ, मसहित भेट्न आएका व्यक्तिहरुका साथै कर्मर्चारीहरु ठूलो दुर्घटनाबाट जोगियौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस