आफ्नै जनप्रतिनिधिलाई तान्न सकेन लोसपा, कतिले गरे सनाखत ?

राजविराज, २२ भदौ । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर महन्थ ठाकुर नेतृत्वमा नयाँ दल दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सप्तरीमा आफ्नै जनप्रतिनिधिलाई पनि तान्न सकेको छैन् । निर्वाचन आयोगले नयाँ दलमा जान चाहने जनप्रतिनिधिहरुलाई भदौ १ गतेदेखि भदौ २२ गतेसम्मको समय दिएको थियो ।

तर, लोसपाले तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट निर्वाचित जनप्रतिनिधिमध्ये आधा जति जनप्रतिनिधि तान्न नसकेको हो । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार स्थानीय तहमा राजपाबाट २१६ जना निर्वाचित जनप्रतिनिधि छन् ।

यद्यपी, सनाखत गर्ने समयसिमासम्म ९६ जना जनप्रतिनिधिले मात्रै लोसपामा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए । उनका अनुसार तत्कालीन राजपाबाट २१६, तत्कालिन संघीय समाजवादी फोरमबाट १४० र तत्कालिन नयाँ शक्ति पार्टीबाट ११ जना गरी ३६७ जना जनप्रतिनिधिमध्ये ९६ जनाले सनाखत गरेका हुन् । जसमध्ये एक जनाको सनाखत फिर्ताकालागि निवेदन परेको जनाएको छ ।

राजपाबाट यहाँका ५ वटा पालिका प्रमुखमा निर्वाचित भएका छन् । श्रोतका अनुसार लोसपाले सकेसम्म आफ्नो पार्टीमै रहन र आउन लोभ–प्रलोभन, साम–दाम, दण्ड–भेदको नीति अंगाले पनि प्रमुखहरुमध्ये तिलाठी कोइलाडी गाउँपालिका प्रमुख सतिश कुमार सिंह बाहेक अन्य पालिका प्रमुखलाई तान्न सकेको छैन् ।

तत्कालिन राजपाबाट निर्वाचित राजविराज नगरपालिका मेयर शम्भुप्रसाद यादव, हनुमाननगर कङ्कालिनी नगरपालिका मेयर शैलेश कुमार साह, डाक्नेश्वरी नगरपालिका मेयर शिवनारायण साह र रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव जसपामै बसेका छन् भने तिलाठी कोइलाडी गाउँपालिकाकै उपाध्यक्ष सुचिता कुमारी यादव पनि जसपामै छन् ।

उता, तत्कालिन राजपाबाट निर्वाचित राजविराज नगरपालिकाका उपमेयर साधना झा र छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष उषाकुमारी मण्डल तथा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित बोदे बरसाइन नगरपालिकाका उपमेयर रन्जु साहले लोसपामा सनाखत गरेको लोसपाका नेता प्रभाकर यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस