जनता आवासः सप्तरीमा ६ वर्षमा पनि बनेन मुसहर समूदायको घर

राजविराज, ३० भदौ । जनता आवास कार्यक्रम अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ लबापुरमा ३० परिवार अतिविपन्न मुसहर समूदायको आवास निर्माण कार्य अलपत्र परेको छ । आवास विहीन दलित समूदायकालागि निःशुल्क पक्की आवास निर्माण कार्य सुरु भएको ६ वर्षभन्दा बढी भइसक्दा पनि एउटै आवासले पूर्णता पाएको छैन् ।

आर्थिक वर्ष ०७२/०७३ मा स्वीकृत भएर मुसहर बस्तीमा आवास निर्माण कार्य सुरु भए । जनता आवासको कार्यविधिअनुसार सो आवास सोही आर्थिक वर्षमा निर्माण हुनुपर्ने थियो । तर, ६ वर्षदेखि नै सो आवासहरु अलपत्र अवस्थामा पुगेको छ ।

‘आवास स्वीकृत भएसँगै सरकारले राम्रो घर बनाइदेला र बसौंला भन्ने आशा पलाएर भएभरको झुपडी पनि भत्काइदिए’ दशन सदाले भने–‘झुपडी भत्काएपछि दुई वर्षौसम्म चर्को घाम र कठ्याङ्ग्रिदो चीसोको कहर समेत खुला आकाशमुनि नै बिताए ।’

सो अवधिमा घर बनाइदिन सबैतिर भौतारिए पनि कहीकत्तैबाट सुनुवाइ नभएपछि फेरी पैचो सापटी र ऋण उठाएर पुनः झुपडी नै बनाउनुपर्ने बाध्यता खेप्दै आएको सदाको दुखेसो छ ।

यसैगरी अर्की लाभग्राही ललित सदाले निमुखा गरिबको पीडातर्फ कसैको ध्यान नपुगेको भन्दै आक्रोश व्यक्त गरिन । ‘हामी निमुखा गरिबलाई हेर्ने को छ हजुर? सरकारी उदासिनताले पक्की घरमा बस्ने सपना पनि पूरा हुन सकेन’ उनले भनिन–‘हाम्रो समस्याप्रति जनप्रतिनिधिलाई पनि वास्ता गरेको देख्दिनँ, वास्ता गर्ने भनेको भोट हाल्ने बेला मात्रै हो ।’

उता, शहरी विकास तथा भवन कार्यालय राजविराजका सूचना अधिकारी तपेश्वर कुमार साहले पुरानो कार्यक्रम रहेको भन्दै जति प्रयास गर्दा पनि अझैंसम्म बनाउन नसकिएको प्रतिक्रिया दिए । पुनः स्थलगत अनुगमनपछि आवास निर्माण कार्य अघि बढाउने आफुहरुको योजना रहेको उनको कथन छ ।

तत्कालीन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले हेर्दै आएको सो कार्य मुलुक संघीय संरचनामा गएसँगै प्रदेश मातहत रहेको शहरी विकास तथा भवन कार्यालय राजविराजलाई जिम्मेवारी हस्तान्तरण भएको छ कार्यक्रम कार्यान्वय गराउन जिल्लास्तरीय समन्वय समिति समेत गठन भएको छ । तर, कार्यालय र समितिका पदाधिकारीहरुको हेल्च्क्राईका कारण ६ वर्ष विताएर पनि त्यहाँका एउटै आवासले पूर्णता नपाउँदा लाभग्राहीहरु निरास बनेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस